२०८३ मंसिर ११ , बिहीबार
Sky News Nepal
November 26, 2026

दशौं राष्ट्रिय खेलकुद : मधेस प्रदेश एपिएफसँग पराजित



सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज भएको पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफ विजयी भएको छ । एपिएफले मधेस प्रदेशलाई १ का विरुद्ध ३ गोल गरी बिजयी भएको हो ।

पहिलो खेलमा सुदूरपश्चिमलाई जितेको मधेस दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफसँग पराजित भएको छ । एपीएफका लागि ३० औं मिनेटमा युवराज खड्का, पहिलो हाफको अतिरिक्त समय ४७ औं मिनेटमा समुन श्रेष्ठ र दोस्रो हाफको अतिरिक्त समय ९८ औं मिनेटमा डिसन राईले गोल गरेका थिए ।

मधेसका लागि एकमात्र गोल दोस्रो हाफको अतिरिक्त समय ९२ औं मिनेटमा दिपेन्द्र विकले गरेका थिए । खेलको ६७ औं मिनेटमा मधेसका गोलरक्षक युनिस चौधरीले डि एरियाभन्दा बाहिर हातले बल छोएपछि रातोकार्ड खाएर मैदानबाट बाहिरिँदा मधेस १० खेलाडीमा सीमित भएको थियो ।

सो खेलमा एपिएफका सन्तोष खत्री तथा मधेसका क्षितिज भण्डारी र हेमन्त भुजेलले पहेंलो कार्ड पाएका थिए । आफ्नो समूहमा दुई खेल खेलेको मधेसले एकमा जित र एकमा हार व्यहोरेपछि एपिएफ र सूदुरपश्चिम विचको खेलको नतिजाका आधारमा अर्को चरणमा जाने वा नजाने निर्भर रहने म्याच कमिसनर बीरेन्द्र पाण्डेले बताए ।

शुक्रवार दुई खेल हुनेछन् । जसमा बिहान ९ बजे लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा दिउँसो २ः३० बजे बागमती र नेपाली सेनाको त्रिभुवन आर्मीबीच खेल हुनेछ ।

प्रकाशित मिति : २०८३ मंसिर ११ गते बिहीबार
Translate »