२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

जन नमूना माविकी सरिता राष्ट्रिय पुरस्कारबाट सम्मानित



असोज २, सुर्खेत ।
जन नमूना माध्यमिक विद्यालयकी छात्रा सरिता श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट सम्मानित भएकी छिन् । सातौं राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा नेपाल सरकारले कर्णाली प्रदेशबाटै शैक्षिक सत्र २०७५/०७६  मा कक्षा १२ को परीक्षामा सामुदायिक विद्यालय विज्ञान संकायतर्फ सर्वोत्कृष्ट अंक ल्याउने सरितालाई सम्मान गरेको हो ।


काठमाडौंमा बुधबार सम्पन्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आयोजित समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नगद ११ हजार रुपैयाँसहित सर्वोत्कृष्टताको प्रमाण पत्र सरितालाई प्रदान गरेका हुन् । नेपाल सरकारले सरितालाई राष्ट्रिय पुरस्कारबाट सम्मान गरेपछि जन नमूना माविले गौरवान्वित महसुस गरेको विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए । उनले लगातार यो तेस्रो पटक राष्ट्रिय पुरस्कार जन नमूना माविले प्राप्त गर्ने अवसर पाएको जानकारी दिए ।

‘सरितालाई नेपाल सरकारले सम्मान गर्दा विद्यालय परिवार गर्व महसुस गरि रहेको छ,’ उनले भने, ‘कक्षा १२ को परीक्षामा विज्ञान संकायतर्फ उत्कृष्ट अंक ल्याएर सरिताले विद्यालयसँगै कर्णाली प्रदेशकै नाम रोशन गरेकी छिन् ।’ उनले होनहार छात्रा सरिताको आगामी यात्रा थप उपलब्धि तथा गौरवपूर्ण रहने कामना समेत व्यक्त गरे । सरिताको सफलताबाट विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यालय व्यवस्थापन समितिसमेत हर्षित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७६ असोज २ गते बिहीबार
Translate »