सुर्खेतमा कालाबजारी रोक्न अनुगमन तीव्र

आकाश तारा बयक /असोज १२, सुर्खेत ।
चाडपर्वको मौका छोपेर व्यापारीले कालाबजारी गर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजार अनुगमन तीव्र पारेको छ । केही दिनदेखि कार्यालयले निरन्तर अनुगमन गरिरहेको छ । चाडपर्वको मौका छोपेर व्यापारीले उपभोक्ताको स्वास्थ्य तथा हितमा खेलबाड गर्न सक्ने ठानेर प्रशासनले अनुगमनमा सक्रियता बढाएको हो । आइतबार पनि बजार अनुगमन समितिले वीरेन्द्रनगरका एक दर्जन बढी खाद्य तथा किराना पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा भेटिएका अखाद्य तथा म्याद नाघेका सामान बरामद गरेको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषबहादुर थापाले बजारका खाद्य तथा किराना पसलमा अनुगमन गरिएको बताए । उनले अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका र अखाद्य सामग्री बरामद गरिएको जनाए । ‘अनुगमन टोलीले दैनिक रुपमा ठूलो परिमाणमा सामग्री बरामद गरेर ल्याउँदा कार्यालयमा भण्डार गर्नसमेत ठाउँ अभाव हुन थालेको छ,’ उनले भने । संयुक्त बजार अनुगमन समितिले गरेको अनुगमनले चर्चा समेत पाएको छ । अनुगमनका क्रममा कुन पसलबाट के के सामान बरामद गरियो भन्ने विवरण सार्वजनिक गर्न थालेपछि सर्वसाधारणमा अनुगमनप्रति चासो बढेको छ । सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुने अनुगमनलाई प्रशंसा पनि गरेका छन् । नियमित अनुगमनले स्थानीय व्यापारीलाई सजग बनाउने अपेक्षा गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । उनले जिल्लामा नाम चलेका पसलबाट समेत अुनगमन टोलीले म्याद नाघेका र अखाद्य वस्तु तथा इजाजत नलिई बेच्न राखिएको वस्तु बरामद गरेको जनाए । उनका अनुसार कालोबजारी गर्ने व्यवसायीलाई ‘अन द स्पट’ कार्बाही गर्न बजार अनुगमन समितिलाई निर्देशन दिइएको छ । फेरि पनि कैफियत भेटिए कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


ग्रामीण बजारमा अनुगमनको कमी
ग्रामीण बजारमा अखाद्य तथा गैरकानुनी सरसामान बिक्री भइरहेको गुनासो आइरहेको छ । सदरमुकामका बजारमा म्याद सकिएका सामान ग्रामीण बजारमा जाने गरेको गुनासो बाक्लै आउन थालेको उनी बताउँछन् । ग्रामीण तहमा पनि अुनगमन प्रभावकारी बनाउन जिल्ला प्रशासनले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा अनुगमन गर्ने नीतिगतलाई कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । कतै अनुगमन गरिए पनि सबैतिर प्रभावकारी हुन सकेको छैन । सबै स्थानीय तहलाई बजार अनुगमन प्रभावकारी बनाउन आग्रह गरिएको अनुगमन समितिको भनाइ छ ।


खाद्यपदार्थदेखि सचेत रहन सुझाव
चाडपर्वका बेला बजारमा दूषित र मिसावटयुक्त खाद्यवस्तु विक्री हुनसक्ने भन्दै सरकारी अधिकारी र अधिकारकर्मीले उपभोक्तालाई त्यस्ता वस्तु किन्दा सचेत हुन आग्रह गरेका छन् । यस्ता गतिविधि रोक्न भन्दै सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि उपभोक्ता भने ढुक्क हुन सकेका छैनन् । नियमनकारी निकायभन्दा गलत मनसाय राखेर व्यवसाय गर्नेहरु हावी हुँदा छिटफुट रुपमा हुने अनुगमन प्रभावकारी बन्न नसकेको कतिपयको गुनासो छ । शहरी जीवनशैली र कामकाजी महिलाको संख्या बढ्दा चाडपर्वका बेला उपभोग हुने मिठाई लगायतका खाद्यवस्तु घरमा बनाउने चलन कम भएको बताइन्छ । त्यसैले जहाँ पायो त्यहीँ किन्न हुँदैन् । उपभोक्ताले बजारमा राखिएका मिठाईको रंगमा विशेष ध्यान दिनुपर्ने खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजनका निमित्त प्रमुख थापाले बताए । ‘धेरै रंग भएको मिठाई खानुभएन, हेर्दा पनि ताजा देखिनुप¥यो,’ उनले भने ।


अनुगमनको प्रभावकारीता पुगेन
चाडपर्व नजिकिँदै गएसँगै जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन तीव्र पारेपनि प्रभावकारी अनुगमन नहुँदा उपभोक्ताहरु ठगिने क्रम बढ्दै गएको उपभोक्ताको गुनासो छ । पछिल्लो समय वीरेन्द्रनगरका विभिन्न स्थानसँगै छिन्चु, मेहलकुना, बोटेचौरलगायतका बजारमा गरिएको अनुगमन देखाउन मात्र अनुगमन गर्ने प्रवृत्तिले उपभोक्तासँगै व्यापारीमा हाउगुजी मात्रै हुने गरेको आरोप छ । अनुगमनबाट वास्तविक कालोबजारी उम्कन सक्ने भएकाले अनुगमन आकस्मिक र छड्के गर्नुपर्ने राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका सचिव रामप्रसाद शर्मा बताउँछन् । बजारमा हुइयाँ मात्र फैलाउने तर बढ्दो कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न मौसमीरुपमा मात्र नभएर नियमित अनुगमन गर्नुपर्ने उनको तर्क छ । चाडपर्वको समयमा खाद्यान्न तथा अन्य उपभोग्य वस्तु र लत्ता कपडाको बढी खपत हुने गर्छ । यस्तो समयमा व्यापारीहरुले बढी फाइदा लिन मूल्यमा वृद्धि गर्ने भएकाले कृत्रिम अभाव गर्नेलाई कारबाही गर्ने हिम्मत राखेर अनुगमन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले बजार अनुगमन गरिस् भन्दा गरेजस्तो मात्र भएको छ ।’

Translate »