मृत्य मार्गलाई समृद्धि मार्गमा बद्लौं

कर्णाली राजमार्ग भन्नेबित्तिकै जोकोहीले मृत्युमार्गको रुपमा चित्रण गर्छन् । तर, सत्य के हो भने राजमार्ग बनेपछि बहुआयामिक फाइदा पुग्ने गर्दछन । राजमार्गले छोएका आसपासका क्षेत्रका नागरिकको जनजीवनमा ढुवानी सहज मात्र होइन, बहुआयामिक फाइदा पु¥याउँछ । यातायातले ग्रामिण अर्थतन्त्रलाई नै माथि उकास्दै गरिबी निवारणदेखि पर्यटन प्रवद्र्धन हुँदै नागरिकको जीवनशैलीमै आमूल परिवर्तन ल्याउँछ । राजमार्गले भौगोलिक तथा आर्थिक क्षेत्रहरुलाई जनजीवनसँग जोड्दै यातायात प्रणालीको दिगो विकासमा टेवा पु¥याएको पाइन्छ । तर, यसका वावजुद राज्यले सडक मात्र बनाएर पुग्दैन् । त्यसका लागि नियमित मर्मत सम्भार तथा स्तरोन्नतीलाई निन्तरता दिनु पर्छ । त्यसो नगर्नाले अहिले कर्णाली राजमार्ग बनिसकेपछि भारी बोक्ने काँधले सहारा पाउँला भन्ने आशामा बसेका कर्णालीबासीका दुःख उस्तै छन् । नेपाल सरकारले डेढ दशक पहिले करिब डेढ अर्ब लागतमा निर्माण गरेको कर्णाली राजमार्गको पूरा खण्ड कालोपत्र नहुनु र गरिएका काम पनि गुणस्तरीय नहुँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कर्णालीको विकास मेरुदण्ड मानिएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको स्तरोन्नती नहुँदा अधिकांश ठाउँमा कालोपत्रे उप्किएपछि दुर्घटनाको जोखिम बढेको हो ।

२०६३ चैत्रमा ट्रयाक खोलिएको राजमार्ग विश्व बैंकको सहयोगमा ०७२ सालमा ओटासिल कालोपत्रे गरिएको थियो । साविक कर्णालीकै बासिन्दा प्रदेशको मुख्यमन्त्री भएको बेला पनि राजमार्गको स्तरोन्नति हुन नसक्नु दुःखद हो । दुर्घटना बढ्नुको प्रमुख कारण हो साँघुरो सडक । जताततै हिलो र खाल्डा। ठाउँ–ठाउँमा पहिरो छ । राजमार्गको स्तरोन्नति नहुँदा बर्सेनि यो राजमार्गमा यात्रा गर्ने हरेक कर्णालीवासीलाई दुःखको दैनिकी बनेको छ । भगवान् भरोसामा सडक यात्रा गर्न बाध्य कर्णालीवासीलाई हम्यहम्य हुने गरेको छ । राज्यले सडक निर्माणमा लापरबाही गरेकै कारण कर्णालीवासीले बर्षेनि ज्यान फाल्नु परेको हो । कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डमा वर्षायाम सुरु भएसँगै दर्जनौँ ठाउँमा पहिरो जाने समस्याले निरन्तर राजमार्ग अवरुद्ध हुने गरेको छ । कालिकोटको सिमाना दही खोलादेखि गगने खोला, काले खोला, सुनार खोला, गल्ली, नाग्मलगायतका ठाउँमा वर्षायाम सुरु भएपछि वर्षा हुँदा पहिरो खस्ने समस्या छ । यस्तै दैलेखको घट्टेखोला, मालाचौर, भेलतडी, जाक्सी लगायतका ठाउँमा बेलाबेलामा आउने पहिरोका कारण सडक अवरुद्ध हुने गरेको छ । यसका कारण कर्णाली राजमार्गमा सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारीसाधन र यात्रुहरूले निकै सास्ती खेप्नु परेको हो । ट्रयाक ओपन भएको डेढ दशक बढी हुँदा समेत सडकको अवस्था उस्तै छ । सडक दुई लेनको बनाउन सके मात्रै पनि कर्णालीको धेरै विकास हुन्थ्यो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको छ ।

राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनि बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको छ । खाल्डाखुल्डी पुर्ने र पहिरो हटाएर यातायात सुचारु गर्ने बजेट मात्र आउने गरेकाले स्तरोन्नती पर्याप्त हुन सकेको छैन् । विश्व बैंकको सहयोगमा सुर्खेतबाट खिड्कीज्यूलासम्म १ सय १८ किलोमिटरमा पहिलो चरणमा र खिड्कीज्यूला–जुम्ला सडकमा दोस्रो चरणमा कालोपत्रे भएको हो । ०७२ को अन्तिममा कालोपत्रे सकिएकोमा अधिकांश ठाउँमा उप्किए पनि वर्षेनि सडक टालटुल पार्ने काम मात्र भइरहेको छ । सडक मर्मतको नाममा असार लागेपछि केही ठाउँमा टालटुल पारिन्छ । गुणस्तरहीन काम हुँदा पनि सडक जीर्ण बनेको हो । केही ठाउँमा त एक वर्ष पनि कालोपत्रे टिकदैन् । राजमार्गमा वर्षमा मुस्किलले ९ महिना जुम्लासम्म सवारी साधन गुड्छन् । सडक जीर्ण बनेपछि राजमार्गमा दुर्घटनाको जोखिम पनि उस्तै छ । सुर्खेत–जुम्ला सडकसँग गाउँ जोड्न खनिएका शाखा सडकका कारण पनि कर्णाली राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । स्थानीय तहले निर्माण गरेका शाखा सडकका कारण दैलेख, कालीकोट र जुम्लाका १९ ठाउँमा सडक बिग्रिएको छ । अब कर्णाली राजमार्गलाई मृत्युमार्गको नामलाई सदाका लागि अन्त्य गर्दै समृद्धि मार्गको रुपमा रुपान्तरण गर्न अपरिहार्य बनिसकेको छ । विकास निर्माण जति ढिलाई गरे त्यतिनै समस्या हुने भएकाले सरकार र सरोकारवाला बढी जागरुक चनाखो हुन आवश्यक देखिन्छ ।

Translate »