बेलायतको प्रधानमन्त्री लिज ट्रसले दिइन् राजीनामा

लन्डन (बेलायत) । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन् । हालैका दिनमा बेलायतको राजनीति तरगिंत भइरहँदा बिहीवार ट्रसले प्रधानमन्त्री र कन्जर्भेटिभ पार्टीको नेताबाट राजीनामा दिएकी हुन् ।

आफूलाई जुन जनादेशका लागि कन्जर्भेटिभ पार्टीको नेताको रुपमा चुनिएको थियो पछिल्लो समय उत्पन्न अवस्थामा आफूले सो जनादेश पूरा गर्न नसक्ने भन्दै उनले राजिनामा दिएकी हुन् । राजिनामाबारे उनले राजालाई सूचित गराइसकेकी छिन् । कन्जर्भेटिभ पार्टीको भावी नेता चयनको निर्वाचन आगामी हप्ता पूरा हुने बताइएको छ ।

आफू प्रधानमन्त्रीको पदमा चुनिएको समय आर्थिक र अन्तरराष्ट्रिय स्तरमा अस्थीरताको समय रहेको प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटको अगाडि पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा ट्रसले भनिन् ।भावी नेताको चयन नहुँदासम्म आफू अन्तरिम प्रधानमन्त्री रहने उनले बताएकी छिन् ।

प्रधानमन्त्रीको कुर्सीमा बसेको ४५ दिन पनि नबित्दै ट्रसले राजीनामा दिएकी हुन् । उनी बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रमको कुर्सीमा बसेकी छिन् । गत महीनाको मिनी बजेटयता नै ट्रसको प्रधानमन्त्रीत्वमा अस्थीरता उत्पन्न भएको थियो । पार्टी नेताको निर्वाचन आगामी हप्ता हुने र आफ्नो उत्तराधिकारी चयन नहुँदा सम्म ट्रस कार्यकारी प्रधानमन्त्रीका रुपमा रहने छिन् ।

ट्रसले ४४ दिन अघि बेलायतको प्रधानमन्त्रीको रुपमा सत्ता सम्हालेकी थिइन् । ट्रसको राजीनामाको घोषणा लगत्तै लेबर पार्टीका नेता सर कीर स्टर्मरले तुरुन्तै आम निर्वाचन गर्नुपर्ने माग राखेका छन् । ट्रसको राजीनामा गृहमन्त्री सुएला ब्रेबरम्यानको राजीनामा र सत्तारुढ दलका सांसदहरुको विद्रोहपछि आएको हो । एजेन्सी

Translate »