२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 15, 2026

३५ वर्षमा राजनीति शुरू गरेर ४२ वर्षमै बेलायतको प्रधानमन्त्री बनेका ऋषी



ऋषी सुनकको परिचयत अति धनाढ्य, युवा मात्रै होइन उनी बेलायतको नेतृत्व सम्हाल्ने पहिलो हिन्दु प्रधानमन्त्री पनि बन्दैछन् । बेलायतमा भारतीय मूलका ऋषी सुनक प्रधानमन्त्री तीन महीनायताका तेस्रो प्रधानमन्त्री बन्दैछन् । यसले पनि सो देशमा व्याप्त आर्थिक र राजनीतिक उथुलपुथल संक्षेप देखाउँछ । सुनक बेलायतको ५७ औं प्रधानमन्त्री बन्दैछन् । उनी प्रधानमन्त्री बन्ने कुरामा अहिले सारा बेलायत विभाजित देखिन्छ । बुहमतको चाहना भने छिटै आम निर्वाचन होस् भन्ने छ ।

पूर्व अर्थमन्त्री समेत रहेका सुनाकको हातमा मंगलवार प्रधानमन्त्री बन्दै गर्दा करीब ३८ प्रतिशत बेलायतीहरु सो खबरले खुसी छन् भने ४१ प्रतिशत निराश रहेको हालै भएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी भएका ५८ प्रतिशतले भने छिटै आम निर्वाचनको घोषणा होस् भन्ने चाहेका थिए । सोमवार कन्जर्भेटिभ दलका सांसदहरुलाई आफ्नो पहिलो सम्बोधनमा सुनकले छिटै निर्वाचन हुने सम्भावना स्वीकार गरेका छन् । इप्सोसले गरेको यस्तै खालको अर्को सर्वेक्षणको नतिजा पनि लगभग यस्तै छ । दुई तिहाईले यो वर्ष सकिनु अघि नै निर्वाचन भएको हेर्न चाहेका छन् ।

लिज ट्रसलाई कन्जर्भेटिभ दलको प्रमुख र बेलायतको प्रधानमन्त्रीको रुपमा विस्थापित गर्ने व्यक्ति चयनका लागि शीघ्रताका साथ भएको निर्वाचनपछि ४२ वर्षिय सुनाक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । कोरोना भाइरसको महामारीका बेलामा बेलायतको अर्थतन्त्रलाई महारीको प्रभावबाट पार लगाउन सुनाक धेरै हदसम्म सफल भएपछि उनको लोकप्रियता चुलिएको थियो । तर सुनाकको श्रीमतिलाई कर छूट दिइएको विषयबारे चर्चा चुलिएपछि उनी विवादित बने । सुनाकले कर लनलाग्ने देशहरुमा लगानी गरेर लाभ लिएको खबरहरु पनि आएका थिए । सुनाकलाई बेलायतको धनी सांसदमध्ये एक मानिन्छ । शनिबार गार्डियनले सुनाक प्रधानमन्त्री बन्न अति धनी हुन् त भनेर प्रश्न नै गरेको थियो ।

सुनक सांसद बनेको ७ वर्षमै प्रधानमन्त्री बन्दैछन् । बेलायतको आधुनिक इतिहासमा प्रधानमन्त्री बन्नेहरुको तुलनामा उनको यो यात्रा निकै छोटो हो । सांसदबाट प्रधानमन्त्री बन्न डेभिड क्यामरुनलाई ९ वर्ष लागेको थियो । तर कान्छा प्रधानमन्त्री र सांसददेखि प्रधानमन्त्रीसम्मको दुबै यात्रामा सुनाकलाई विलियम पिटले पटाडि पारेका छन् । यो दुरी तय गर्न पिटलाई २ वर्ष मात्रै लागेको थियो ।

सुनकलाई यसअघिको निर्वाचनमै भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । त्यति त्यतिबेला ट्रसले उनलाई उछिनिन् । ट्रसले प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४४ दिनमै गत हप्ता राजिनामा दिएपछि पुनः सुनाक प्रधानमन्त्री बन्ने सम्भावना बलियो बन्यो । उनीसँगै पूर्व प्रधानमन्त्री बोरिस जोनसन पनि प्रधानमन्त्रीका बलियो दाबेदार थिए । तर उनले आफ्नो उमेदवारी दिएनन् । हाउस अफ कमन्सकी नेता पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनाक प्रधानमन्त्री बनेका हुन् ।

सेप्टेम्बर ५ मा कन्जर्भेटिभ दलको नेतामा ट्रसले सुनाकलाई हराएकी थिइन् । सो घटनापछि उनी बेलायतको राजनीतिबाटै गायब हुने अड्कल बाजी बढेको थियो । तर ट्रसको कर कटौती लगायतका विनाशकारी घोषणाका कारण उनको प्रधानमन्त्री पद डुब्यो । अनि पुनः सुनाक आफ्ना समर्थकहरुसहित प्रधानमन्त्रीको दाबेदारीमा अगाडि आए । सुनाक निकै अप्ठयारो समयमा बेलायतको प्रधानमन्त्री बन्न लागेका छन् । अहिले बेलायतीहरुले सुनाकमाथि निकै ठूलो आश राखिराखेका छन् । तर अहिले उनलाई आर्थिक अस्तव्यस्थता सुधार्नेदेखि विभाजित सत्तारुढ दललाई एकीकृत गर्नेसम्मका अनेकौं चुनौतीको सामना गर्नु पर्नेछ । उनको अर्को चुनौती ४० वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्नु पनि हो । एजेन्सी/आर्थिक अभियान

प्रकाशित मिति : २०७९ कात्तिक ८ गते मंगलबार
Translate »