३५ वर्षमा राजनीति शुरू गरेर ४२ वर्षमै बेलायतको प्रधानमन्त्री बनेका ऋषी

ऋषी सुनकको परिचयत अति धनाढ्य, युवा मात्रै होइन उनी बेलायतको नेतृत्व सम्हाल्ने पहिलो हिन्दु प्रधानमन्त्री पनि बन्दैछन् । बेलायतमा भारतीय मूलका ऋषी सुनक प्रधानमन्त्री तीन महीनायताका तेस्रो प्रधानमन्त्री बन्दैछन् । यसले पनि सो देशमा व्याप्त आर्थिक र राजनीतिक उथुलपुथल संक्षेप देखाउँछ । सुनक बेलायतको ५७ औं प्रधानमन्त्री बन्दैछन् । उनी प्रधानमन्त्री बन्ने कुरामा अहिले सारा बेलायत विभाजित देखिन्छ । बुहमतको चाहना भने छिटै आम निर्वाचन होस् भन्ने छ ।

पूर्व अर्थमन्त्री समेत रहेका सुनाकको हातमा मंगलवार प्रधानमन्त्री बन्दै गर्दा करीब ३८ प्रतिशत बेलायतीहरु सो खबरले खुसी छन् भने ४१ प्रतिशत निराश रहेको हालै भएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी भएका ५८ प्रतिशतले भने छिटै आम निर्वाचनको घोषणा होस् भन्ने चाहेका थिए । सोमवार कन्जर्भेटिभ दलका सांसदहरुलाई आफ्नो पहिलो सम्बोधनमा सुनकले छिटै निर्वाचन हुने सम्भावना स्वीकार गरेका छन् । इप्सोसले गरेको यस्तै खालको अर्को सर्वेक्षणको नतिजा पनि लगभग यस्तै छ । दुई तिहाईले यो वर्ष सकिनु अघि नै निर्वाचन भएको हेर्न चाहेका छन् ।

लिज ट्रसलाई कन्जर्भेटिभ दलको प्रमुख र बेलायतको प्रधानमन्त्रीको रुपमा विस्थापित गर्ने व्यक्ति चयनका लागि शीघ्रताका साथ भएको निर्वाचनपछि ४२ वर्षिय सुनाक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । कोरोना भाइरसको महामारीका बेलामा बेलायतको अर्थतन्त्रलाई महारीको प्रभावबाट पार लगाउन सुनाक धेरै हदसम्म सफल भएपछि उनको लोकप्रियता चुलिएको थियो । तर सुनाकको श्रीमतिलाई कर छूट दिइएको विषयबारे चर्चा चुलिएपछि उनी विवादित बने । सुनाकले कर लनलाग्ने देशहरुमा लगानी गरेर लाभ लिएको खबरहरु पनि आएका थिए । सुनाकलाई बेलायतको धनी सांसदमध्ये एक मानिन्छ । शनिबार गार्डियनले सुनाक प्रधानमन्त्री बन्न अति धनी हुन् त भनेर प्रश्न नै गरेको थियो ।

सुनक सांसद बनेको ७ वर्षमै प्रधानमन्त्री बन्दैछन् । बेलायतको आधुनिक इतिहासमा प्रधानमन्त्री बन्नेहरुको तुलनामा उनको यो यात्रा निकै छोटो हो । सांसदबाट प्रधानमन्त्री बन्न डेभिड क्यामरुनलाई ९ वर्ष लागेको थियो । तर कान्छा प्रधानमन्त्री र सांसददेखि प्रधानमन्त्रीसम्मको दुबै यात्रामा सुनाकलाई विलियम पिटले पटाडि पारेका छन् । यो दुरी तय गर्न पिटलाई २ वर्ष मात्रै लागेको थियो ।

सुनकलाई यसअघिको निर्वाचनमै भावी प्रधानमन्त्रीको रुपमा हेरिएको थियो । त्यति त्यतिबेला ट्रसले उनलाई उछिनिन् । ट्रसले प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४४ दिनमै गत हप्ता राजिनामा दिएपछि पुनः सुनाक प्रधानमन्त्री बन्ने सम्भावना बलियो बन्यो । उनीसँगै पूर्व प्रधानमन्त्री बोरिस जोनसन पनि प्रधानमन्त्रीका बलियो दाबेदार थिए । तर उनले आफ्नो उमेदवारी दिएनन् । हाउस अफ कमन्सकी नेता पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनाक प्रधानमन्त्री बनेका हुन् ।

सेप्टेम्बर ५ मा कन्जर्भेटिभ दलको नेतामा ट्रसले सुनाकलाई हराएकी थिइन् । सो घटनापछि उनी बेलायतको राजनीतिबाटै गायब हुने अड्कल बाजी बढेको थियो । तर ट्रसको कर कटौती लगायतका विनाशकारी घोषणाका कारण उनको प्रधानमन्त्री पद डुब्यो । अनि पुनः सुनाक आफ्ना समर्थकहरुसहित प्रधानमन्त्रीको दाबेदारीमा अगाडि आए । सुनाक निकै अप्ठयारो समयमा बेलायतको प्रधानमन्त्री बन्न लागेका छन् । अहिले बेलायतीहरुले सुनाकमाथि निकै ठूलो आश राखिराखेका छन् । तर अहिले उनलाई आर्थिक अस्तव्यस्थता सुधार्नेदेखि विभाजित सत्तारुढ दललाई एकीकृत गर्नेसम्मका अनेकौं चुनौतीको सामना गर्नु पर्नेछ । उनको अर्को चुनौती ४० वर्षयताकै उच्च स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्नु पनि हो । एजेन्सी/आर्थिक अभियान

Translate »