विश्वकप उपाधि जित्न अर्जेन्टिनालाई मेसीको भर, फ्रान्सलाई एम्बाप्पेको आश, फाइनलमा यी रेकर्ड बन्ने !

काठमाडौं । कतारको लुसेल रंगशालामा आइतवार राति हुने फिफा विश्वकप–२०२२ को उपाधिका लागि फ्रान्स र अर्जेन्टिना प्रतिस्पर्धा गर्दैछन् । पछिल्लो संस्करणको उपाधि विजेता फ्रान्स लगातार दोस्रो पटक विश्वविजेता बन्ने दाउमा छ । यसअघि उसले पछिल्लो संस्करणसँगै सन् १९९८ को उपाधि जितेको थियो ।

अर्जेन्टिना पनि साविक विश्वविजेतालाई हराएर ३६ वर्षपछि उपाधि जित्ने होडमा देखिन्छ । यसअघि उसले सन् १९७६ र १९८६ को उपाधि आफ्नो पोल्टामा पारेको थियो । अर्थात् जुन टोलीले खेल जिते पनि तेस्रो पटक उपाधि जित्नेछन् ।

जारी विश्वकपको सेमिफाइनलमा लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले क्रोएशियालाई ३–० ले पराजित गर्दा काइलियान एमबाप्पे नेतृत्व फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो ।

कस्तो हुनेछ खेल ढाँचा ?

अर्जेन्टिनी कोच लियोनल स्कालोनीले फ्रान्सविरुद्धको खेलमा ४–३–३ को ढाँचामा खेलाउन सक्नेछन् । उनले खेलाडी हेरफेर गर्ने सम्भावना पनि देखिन्छ । लियोनार्दाे पेरेडसको ठाउँमा एन्जल डि मारिया आउने सम्भावना छ । घुँडाको चोटले ग्रस्त अलेजान्द्रो गोमेजको बेञ्चमै बस्ने सम्भावना देखिन्छ ।

फ्रान्सका कोच दिदेएर डेस्च्याम्प्सले भने ४–२–३–१ को ढाँचामा खेलाउने सम्भावना देखिन्छ । यसअघिका खेलमा उनले यही ढाँचामा खेलाएका थिए । यो ढाँचाले अहिलेसम्म टिमको लागि काम पनि गरेको छ ।

डेओट उपामेसानो राफेल भाराने र इब्राहिम कोनाटेसँगै बेञ्चमै बस्ने चिन्ता छ । आद्रिएन राबियोट मिडफिल्डमा फर्किँदा युसुफ फोफाना भने बेञ्चमा बस्नेछन् ।

अर्जेन्टिना मेसी केन्द्रित ! फ्रान्सलाई एम्बाप्पेकै आश

अर्जेन्टिनी टिम हालैका वर्षहरूमा कप्तान मेसीमै केन्द्रित छ । फ्रान्सलाई पनि एम्बाप्पेकै आश छ । करिम बेनजेमा, पल पोग्बा र एनगोलो कान्ते जस्ता ग्लोबल सुपरस्टारहरू चोटग्रस्त भएको अवस्थामा उनीहरू खेल्नेमा आशंका गरिएको छ । उनीहरूको अनुपस्थितिमा एमबाप्पेकै आसपास फ्रान्सको रक्षा लाइन बनेको छ । स्टार खेलाडीको अनुपस्थितिले पनि ग्रिजम्यान र भेटरान खेलाडी ओलिभर जिरोउडले चम्किने समय र ठाउँ पाएका छन् ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा अर्जेन्टिनी कोच स्कालोनीले आइतवारको खेल एमबाप्पेविरुद्ध मेसी भन्दा पनि फ्रान्सविरुद्ध अर्जेन्टिनाको भएको बताएका थिए ।

दुवै टिममा विश्वकप जित्न चाहिने हतियार छन् । तर, खेलको भाग्य अन्य खेलाडीले निर्धारण गर्ने स्कालोनीले बताएका छन् ।

मेसीले निकै राम्रो गरिरहेको अनि जित आफ्नो पोल्टामा आउने उनको आशा छ । भाइरसको कारण अभ्यासमा आउन नसकेका केही खेलाडीहरू अभ्यासमा फर्किएपछि फ्रान्सलाई केही राहत मिलेको छ । मोरक्कोविरुद्धको खेलमा उपामेकानो र राबियोट अस्वस्थताका कारण खेल्न सकेका थिएनन् । बिरामी पाँचै खेलाडी शनिवार अभ्यासमा आएका थिए ।

कसले कति खेले फाइनल ?

अर्जेन्टिनाले विश्वकपको फाइनल खेल्न लागेको यो छैटौं पटक हो । उसले यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा फाइनल खेलेको थियो ।

फ्रान्सको लागि भने यो चौथो अनुभव हो । ऊ सन् १९९८, २००६, २०१८ मा फाइनलमा पुगेको हो ।

यस्तो छ हेड टु हेड नतिजा 

यी दुई टोलीबीचको हेड टु हेडमा अर्जेन्टिना अघि देखिएको छ । सन् १९३० यता फ्रान्स र अर्जेन्टिनाले १२ पटक अन्तराष्ट्रिय खेलमा एक अर्काको सामना गरेका छन् ।

अर्जेन्टिनाले ६ खेल जित्दा फ्रान्सले ३ खेल आफ्नो पक्षमा पारेको छ । यी दुई टोलीबीचका तीन खेल भने बराबरीमा सकिएका छन् ।

बन्न सक्छन् यी रेकर्ड ! 

फ्रान्सले यो विश्वकप जित्यो भने लगातार विश्वकप जित्ने ऊ तेस्रो देश हुनेछ । सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेयता कुनै पनि राष्ट्रले यो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

२४ वर्ष पुग्नुअघि नै पुरुष विश्वकप उपाधि जित्ने एमबाप्पे पेलेपछिका एक मात्र खेलाडी बन्नेछन् । कप्तानको रूपमा एउटाभन्दा धेरै विश्वकप उपाधि जित्ने ह्युगो लोरिस पहिलो पुरुष बन्नेछन् । पुरुषतर्फको विश्वकपमा सबैभन्दा धेरै रनर अप बन्नेमा जर्मनीसँग अर्जेन्टिनाले बराबरी गर्नेछ ।

अर्जेन्टिनाले जित्यो भने शुरुको खेल हारेर विश्वकप उचाल्ने टिम बन्नेछ । यसअघि स्पेनले यो रेकर्ड बनाएको छ । तीन पटक विश्वकप जित्ने यो चौथो देश हुनेछ । अनि सबैभन्दा ठूलो कुराचाहिँ मेसीले आफ्नो पहिलो विश्वकप ट्रफी उचाल्न पाउनेछन् । एजेन्सीहरू

Translate »