अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड अमेरिकाको राजदूत नियुक्त

पुस ५, काठमाडौं । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रूड अमेरिकाको राजदूतमा नियुक्त भएका छन् । अस्ट्रेलियाका २६ औं प्रधानमन्त्री केभिन रूडले आर्थर सिनोडिनोसको स्थानमा आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रूपमा कार्यभार सम्हाल्नेछन् । हाल एसिया सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रमुख रहेका रूडले आफूलाई यो अवसर दिएकोमा अष्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले पूर्व प्रधानमन्त्री केभिन रुडले राजदूत नियुक्तिलाई स्वीकारेर ठूलो सहयोग गरेको प्रतिक्रियासमेत दिएका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानीजले रुडसँग अमेरिकामा व्यापक अनुभव र सम्बन्ध रहेको भन्दै यसले आगामी दिनमा अष्ट्रेलिया र अमेरिकाबीच थप सम्बन्ध विस्तार हुने आशा राखे । विगत एक दशकको अधिकांश समय अमेरिकामा बिताएका उनले अमेरिकी राजनीतिज्ञ र व्यवसायीसँग काम गरेका छन् ।

‘केभिन रूड एक उत्कृष्ट नियुक्ति हो, उनले यो नियुक्तिमा सहमत भएर अष्ट्रेलियालाई ठूलो सहयोग गरेका छन्,’ प्रधानमन्त्री अल्बानीजले भने । उनले वाशिंगटन डीसीमा विश्वव्यापी समुदायसँग सम्बन्ध राख्ने व्यक्तिको रूपमा उनी एक प्रमुख सम्पती भएको बताए । हालैका वर्षहरूमा उनले रूपर्ट मर्डोकको स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय मिडिया संगठन न्यूज कर्पोरेसनमा शाही आयोगको लागि अभियान पनि अगाडि बढाएका छन् । अष्ट्रेलियाले हाल दशकौंदेखि सबैभन्दा चुनौतीपूर्ण सुरक्षा र कूटनीतिक वातावरणको सामना गरिरहेको भन्दै रूडले एक विज्ञप्ति जारी गर्दै अष्ट्रेलियाको राष्ट्रिय हितलाई निरन्तरता दिइने बताए । एजेन्सी

Translate »