‘बिकनी किलर’ चार्ल्स शोभराजलाई छाड्न सर्वोच्चको आदेश
पुस ६, काठमाडौं। विकिनी किलरको उपमाले चिनने अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज जेलबाट छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले चार्ल्स शोभराजलाई आजै कैदबाट मुक्त गर्न र आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन आदेश दिएको हो । आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
शोभराजमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो । भक्तपुर जिल्ला अदालतले शोभराजलाई ती दुई विदेशीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो । जसलाई सर्वोच्च अदालतले २०६७ साउन १४ मा सदर गरेको थियो ।
२०६० सालमा नेपाल आएका बखत शोभराज त्यसभन्दा २८ वर्ष पहिलेको हत्या अभियोगमा पक्राउ परेका थिए । २०६० असोज २ मा पक्राउ परेका शोभराजविरुद्ध त्यसपछि मात्रै पुराना मुद्दा ब्युँताएर फैसला गरिएको थियो । उनलाई भएको जन्मकैद अनुसार २०८० असाजे १ सम्म उनी थुनामा बस्नुपर्ने थियो । हाल ७८ वर्ष पुगेका शोभराजले आफूले पनि जेष्ठ नागरिकले पाउने कैद छुटको सुविधा पाउनुपर्ने माग गर्दै आएका थिए । त्यसका लागि उनले बारम्बार सर्वोच्च अदालतमा रिट दायर गर्दै आएका थिए ।