टर्की र सिरियामा भूकम्प : झण्डै आठ हजार जनाको मृत्यु

काठमाडौं । टर्की र सिरियामा गएको भूकम्पका कारण मृतकहरुको संख्या करीब ८ हजार पुगेको छ ।

अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार बुधवार विहानसम्ममा टर्कीमा मात्रै ५ हजार ८९४ जना र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको छ । गत सोमवार बिहान ४ बजेर १७ मिनेटमा टर्की र सिरियाको सीमा क्षेत्रमा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टा लगत्तै ७ दशमलव ५ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

भग्नावशेषहरुमा खोजी र उद्दार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ । त्यहाँ अत्यधिक चिसो मौसम रहेको छ ता पनि  उद्दार तथा राहतको कामलाई तीव्र पारिएको छ । टर्कीका सहरहरुमा भूकम्प पीडितहरु नै उद्दार कार्यमा सक्रिय रहेको बीबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।  टर्की सरकारले भूकम्पले मानवीय र भौतिक क्षति धेरै भएपछि त्यहाँ संकटकाल घोषणा गरेको छ ।

अमेरिका, चीन, रुस, बेलायतलगायत देशले खोज तथा उद्दार कार्यमा सघाउन शुरु गरेका छन् । टर्कीमा गएको शक्तिशाली भुकम्पका कारण आर्थिक संकट सृजना भएको छ । टर्कीको मुद्रा लीरा केदिदिन यतादेखि निरन्तर कमजोर भइरहेको छ भने महंगी पनि बढेको छ । त्यहाँ करीब ६ हजार भवनहरु ध्वस्त भएको छ भने कैयौं मानिस बेपत्ता छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैएप एर्दोगानले भूकम्प प्रभावित क्षेत्रमा उद्दार टोलीले काम गरिरहेको बताएका छन् । साथै उनले देशका दक्षिणी भागका १० ओटा सहरहरू भूकम्प प्रकोप क्षेत्र भएको र ती क्षेत्रमा केहि महीनाको लागि आपतकालिन अवस्था घोषणा गरिएको बताएका छन् । एजेन्सीहरु

Translate »