टर्की भूकम्प : अट्ठाइस हजारभन्दा बढीको मृत्यु

इस्तानबुल । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ ।

हालसम्म टर्कीमा २४ हजार छ सय १७ जनाले ज्यान गुमाएका उपराष्ट्रपति फुवाट ओक्टेले बताएका छन् । सिरियामा तीन हजार पाँच सय ७५ जनाको ज्यान गएको छ । सरकार नियन्त्रित क्षेत्रमा एक हजार चार सय आठ जना तथा विद्रोहीको पकड भएका भूभागमा दुई हजार एक सय ६७ जनाको मृत्यु भएको उद्दारमा संलग्न स्वयम्सेवी संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।


विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्दारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको बताए पनि त्यससम्बन्धी वास्तविक विवरण दिएको छैन ।

इटालीका रक्षामन्त्री गुइडो क्रोसेटोले सिरियाली भूकम्पपीडितलाई सहायता सामग्री बेरुतको लेबनानबाट परिचालन गरिएको बताएका छन् । रेडक्रस र रेडक्रिसेन्टलगायत अन्तर्राष्ट्रिय परोपकारी संस्थामार्फत राहत सामग्री वितरण गरिने जानकारी उनले दिएका छन् ।

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्दार गर्न टर्कीएमा उद्दारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने केही संस्थाले सुरक्षाका कारण खोज तथा उद्दारका काम रोकेका छन् । टर्की सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश गरेका छन् । एएफपी

Translate »