रानीघाट पुल छिटो बनाऊँ !
सुर्खेतको तेलपानी– बर्दियाको भुरीगाउँ जोड्ने सडक निर्माण थालेको दुई दशक नाघि सक्यो तर पनि तराई र भित्रि मधेश जोड्ने यो छोटो सडक अझै पुरा हुन सकेको छैन । कहिले वन तथा पर्यावरणको समस्या त कहिले बजेटको समस्या भोग्दै आएको तेलपानी–भुरीगाउँ सडकले निर्माण व्यवसायीको ढिलासुस्ती पनि खेपेकै हो । एक दशक भन्दा बढीदेखि सुर्खेतको बराहताल गाउँपालिकाको रानीघाटस्थित भेरी नदीमाथि पुल बनाउन थालेको ११ वर्षपछि नयाँ टेन्डर खोल्ने तयारी थालिएको छ । अहिले पुनः ठेक्का प्रक्रियामा जानुपूर्व पहिले बनेका संरचना पुनः प्रयोग गर्न मिल्ने/नमिल्ने विषयमा सडक विभागले अध्ययन गर्न थालेको छ । यस अवधिसम्म ठेकेदार कम्पनीले काम अलपत्र छाडेको थियो । सरकारका तर्फबाट पनि पुल निर्माणमा उपयुक्त विकल्प खोजिएको थिएन । रानीघाटमा पुल बनाउन आर्थिक वर्ष २०६८/६९ मा ठेक्का खोलिएको थियो । पुलका लागि २०६९ असार २१ गते प्रक्रिया पूरा भएर पप्पु कन्स्ट्रक्सन र मल्ल कन्स्ट्रक्सनको जोइन्ट भेन्चरसँग ठेक्का सम्झौता भएको थियो । यो पुलले भेरी नदी पारी वराहताल गाउँपालिका–१, २, ३ र ४ मा पर्ने तेलपानी, रानीघाट, श्रीचौर, हरिहरपुर, पाग्म, सुँगुरखाल, हर्रेकाँडा, लक्ष्मणकाँडा, लेखगाउँ, सिम्लेपानी गाउँका नागरिकको यातायात पहुँचलाई जोड्ने छ तर बितेका ११ वर्षसम्म पुल नबन्दा त्यहाँका नागरिकलाई यातायातको पहुँचमा पुग्न छ घण्टा बढी समय लाग्छ । गाडी चढ्न उनीहरुलाई वीरेन्द्रनगरदेखि भेरी वारीको रानीघाट पुग्नै पर्छ । पुल बन्न ढिलाइ भएकै कारणले भेरीपारीका ती गाउँहरुसम्म भरपर्दो सडक बन्न सकेको छैन् । नदीमाथि पुल नहुँदा भेरीपारिका गाउँहरु अर्को मुलुक जस्ता भएका छन् । गाउँमा उत्पादित वस्तुको बजारीकरण, रोजगारीका अवसरहरु समेत गुमेका छन् । कृषि उत्पादनहरु समयमा बजारसम्म पु¥याउन नपाएर गाउँमै सड्ने गरेका छन् । नदीपारी पर्ने यी गाउँका लागि यातायातको अर्को विकल्पै छैन, सर्पदंशबाट बर्सेनि गाउँमा एक–दुई जनाको मृत्यु हुन्छ । सर्पले टोकेका मानिसलाई समयमै वीरेन्द्रनगरको अस्पताल पु¥याउन सकिने अवस्था समेत कठिन रहेको छ ।
निर्माण सम्झौता अनुसार पुल ४२ महिनामा निर्माण पूरा गर्नुपर्ने उल्लेख थियो । निर्माण कम्पनी पप्पु–मल्ल जेभीले २०७२ जेठबाटै काम गर्न छोडेको थियो । १३ करोड १५ लाख ७५ हजार ७५३ रुपैयाँमा रानीघाट पुलको ठेक्का भएको थियो। निर्माण कम्पनीले छेउको एउटा पर्खाल बनाएको छ । दुई वटा स्पान आधा बनाएको छ । दुई स्पानमध्ये पनि एउटा १२ मिटर र अर्को ५.४ मिटर मात्र जग बनाइएको छ । यसको जग बनाउनुपर्ने जम्मा १८ मिटर थियो । कम्पनीले तोकेको मापदण्ड अनुसार पनि बनाउन सकेन । निर्माण कम्पनीले काम गर्न छोडेको सात वर्षपछि सडक विभागले ठेक्का तोड्यो । विभागले २०७९ भदौ २७ गते पप्पु–मल्ल जेभीसँग ठेक्का तोडेको हो । सम्झौता भएको कुल रकम मध्ये निर्माण कम्पनीले २५ प्रतिशत रकम अर्थात चार करोड ३८ लाख २२ हजार ९७४ रुपैयाँ कार्यालबाट भुक्तानी लिइसकेको छ । ठेक्का तोडेपछि निर्माण कम्पनीसँग भुक्तानी लिएको पेस्कीसहितको रकम फिर्ता मागिएको छ । ठेक्का तोडिसकेपछि निर्माण कम्पनीले पेस्कीबाहेकको भुक्तानी रकम फिर्ता गरेको छैन । यद्यपि ! गत चार वर्षको अवधिमा त बजेट नै नपरेपछि सडक निर्माणको चर्चा हुने कुरो नै भएन । सरकारको प्राथमिकतामा नपर्दा कर्णाली प्रदेशलाई तराईंसँग जोड्ने छोटो दुरीको सुर्खेत तेलपानी भुरीगाउँ सडकको निर्माण कार्य चार वर्षदेखि ठप्प छ । बर्दिया निकुञ्जको आम्बासादेखि सुर्खेतको तेलपानी हुँदै वीरेन्द्रनगरसम्मको ५२ किलोमिटर सडक खण्डको अधिकांश भागमा ट्¥याक खुलेपनि बजेटले निरन्तरता नपाउँदा निर्माणको काम पुरा हुन नसकेको हो । कर्णालीलाई तराईंका जिल्लासँग जोडेर पर्यटन तथा व्यापार व्यवसायका लागि महत्वूुर्ण मानिएको तेलपानी भुरीगाउँ सडक केद्रीय योजनामा समेत पर्न सकेन । तत्कालीन जिल्ला पञ्चायतले २०२५ सालमा हुलाकी सडक खन्यो । सुर्खेत–तेलपानी–भुरीगाउँ जोड्ने यो सडकको हालत अहिले पनि उस्तै छ ।
कर्णालीलाई लुम्बिनी प्रदेशको बर्दियासँग जोड्ने यो सडकखण्ड पाँच दशक बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन । कुल ५२ किलोमिटर लामो यो सडकको सुर्खेततर्फ ३२ किलोमिटर भाग पर्छ । यसमध्ये २४ किलोमिटर सडक निर्माण भइसकेको छ । त्यही सडक पनि विस्तार र मर्मत हुन नसक्दा वर्षातमा सवारीसाधन आवागमनमा अवरोध हुने गर्छ । वर्षौंदेखि सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणका लागि स्थानीयले आवाज उठाउँदै आएका छन् । ट्¥याक खुलेका स्थानमा पनि बजेटले निरन्तरता नपाउँदा निर्माणको काम पूरा हुन सकेको छैन । कर्णालीलाई तराईसँग जोडेर व्यापार व्यवसायका लागि महत्वपूर्ण मानिएको यो सडक सरकारको प्राथमिकतामा नपर्नु पनि रहस्यको विषय बनेको छ । कर्णालीलाई दक्षिणतर्फ जोड्ने रणनीतिक मार्गका रूपमा लिइए पनि उक्त सडक खण्ड दलहरुको चुनावी नारा मात्रै बन्ने गरेको छ । सडक बनेको खण्डमा वीरेन्द्रनगरबाट बर्दियाको भुरीगाँउ पुग्न सबैभन्दा छोटो मार्ग अर्थात् ५२ किलोमिटर मात्र पार गर्नुपर्छ । तर सडक नबनेकै कारण हाल सुर्खेतबाट कोहलपुर हुँदै बर्दिया पुग्न १ सय ४६ किलोमिटर पार गर्नुपर्ने बाध्यता छ । यो सडक बर्दियाका लागि मात्रै होइन, सिंगो सुदूरपश्चिम प्रदेशका सर्वसाधारणलाई पनि कर्णाली पुग्न सबैभन्दा छोटो दूरीको बाटो यही हो । तर, राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी नहुँदा जिल्लाका ठूला आयोजनाहरु अधुरै रहेका छन् । दूरगामी महत्वका आयोजनाहरु अधुरै रहनुको मुख्य कारण विकासप्रेमी नेतृत्व नहुनु हो । कुशल र इमान्दार नेतृत्व नभएकै कारण आयोजनाहरुले पूर्णता पाउन सकेनन् । अब अधुरा आयोजनाहरु पुरा गर्न तर्फ तीनै तहका विकास प्रेमी सरकारहरुले ध्यान पु¥याउन अब ढिलाई गर्नु हुँदैन् ।