मालीमा लडाकु समूहद्वारा आक्रमण : ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु

अफ्रिकी मुलुक मालीको एउटा डुंगामा मुस्लिम लडाकुहरुले आक्रमण गरी कम्तीमा ४९ जना सर्वसाधारणको हत्या गरेको त्यहाँको अन्तरिम सरकारले जनाएको छ ।

नाइजर नदिको बिचमा लडाकुले डुंगाको इन्जिनलाई लक्षित गर्दै तीनवटा क्षेप्यास्त्र प्रहार गरेका थिए । डुंगा नदिकै बीचमा रोकिएपछि सेनाले त्यहाँ रहेका बाँकी यात्रुको उद्धार गरेका थिए । यसैगरि लडाकुले एउटा सैन्य शिविरमा समेत आक्रमण गर्दा १५ जना सैनिकको मृत्यु भएको छ ।

भिडन्तमा परी ५० जना लडाकुको समेत मृत्यु भएको बताइएको छ । सरकारले तीनदिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।  विश्वभर भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहको जोखिम रहेको आँकलन गरिरहेका बेला इस्लामवादीहरुको खतरा झन् बढ्दै गएको हो।

मालीको उत्तरी सहर टिम्बक्टुमा गत महिनाको अन्त्यदेखि नाकाबन्दी जारी छ। पछिल्लो समय सो स्थानमा चल्ने यातायातका साधनमा धेरै आक्रमणहरू भएका छन्।


नाइजर नदीमा गाओ शहरबाट मोप्तीतर्फ जाँदै गरेको डुङ्गामा लडाकुहरूले आक्रमण गरेको बताइएको छ। गाओ क्षेत्रको बोरेम सर्कलमा रहेको सेनाको शिविरमा पनि विद्रोहीहरुले आक्रमण गरेका छन् ।

विगत केही समय यता त्यहाँ मुस्लिम लडाकु समुहले गर्ने आक्रमणको संख्या बढ्दै गएको छ । सन् २०२० देखि त्यहाँ सेनाले सत्ता चलाइरहेको छ । मालीका तत्कालिन राष्ट्रपति विरुद्ध सर्वसाधारण जनता सडकमा उत्रिएपछि सेनाले सत्ता कब्जा गरेको थियो ।

सन् २०१२ देखि अलकाइदा र इस्लामिक स्टेटसंग निकट लडाकु समुहले सरकार विरुद्ध गतिविधिहरु सञ्चालन गर्नुकासाथै मुलुकका केही भागमा कब्जा जमाएको छ । एजेन्सी

Translate »