चाडपर्व सुरक्षा रणनीति


दसैं आउनु भनेको शारदीय घामको रङ छाउनु हो । आकाशमा चंगाहरु उड्न थाल्नु हो अनि खेतमा धान झुल्न थाल्नु पनि हो । अझ बजारमा चहलपहल बढ्नु पनि हो । अनि नयाँनयाँ रङरोगनले घरहरु सिंगारिनु, नयाँ लत्ताकपडाको किनमेल गर्नु दसैंसँग जोडिएका नेपालीका गतिविधि हुन् । बडादसैं नेपाली समाजको ठूलो हिस्साको सबैभन्दा ठूलो सांस्कृतिक पर्व हो । त्यसो त आर्थिक हिसाबले पनि महत्वपूर्ण अवसर हो । यिनै पर्वको छेकोमा नेपालमा किनमेल र व्यापार व्यवसाय फस्टाउँछ । तसर्थ दसैं सांस्कृतिकमात्रै नभई आर्थिक पर्व पनि हो । तर यसपालिको दसैंको छनक शरद ऋतुको आगमनले दिइसक्दा पनि बजारमा त्यसको छनक देखा परेको छैन । आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट छ । दसैं लक्ष्य गरेरै व्यवसायीले विदेशबाट समेत सामान आयात गरिसकेका छन् । तर चिन्ता छ, सामान बिक्री होला कि नहोला ? लत्ताकपडा, रक्सी, खसीबोका, मसला (जिरा/धनियाँ), दाल, चामल, गेडागुडी, खाने तेल, फलफूल, जुत्तादेखि विद्युतीय उपकरणको आयात व्यापक भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । दसैं भनेकै मासु र त्यसका परिकार अनि मरमसलाको खपत धेरै हुने अवसर हो । खसीबोकाको सबैभन्दा बढी किनबेल यही बेला हुन्छ । किसानले खसीबोका बिक्री गरेर नगद भित्र्याउने अवसर पनि हो यो । तर ती खसीबोका बिक्री होलान् कति भन्ने चिन्ता छ भने अर्कोतर्फ गरिवी, अभाव र रोगभोगले थला परेको समाजमा सामाजिक समस्याहरु पनि देखा पर्न थाल्छन् । चाडपर्व भनेको फुर्सदको बेला पनि हो ।

चाडपर्व भनेको राम्रो लगाउने, राम्रो खाने र आफन्तहरुसँग भेटघाट गर्ने, जमघट गरी भलाकुसाली गर्नुको साटो रक्सी पिउने, जुवातास खेल्ने, झैझडा गर्ने, समाजमा अशान्ति फैलाउने जस्ता कार्य समेत हुने गरेका छन् । नेपाली समाजलाई विकृत बनाउने लागुऔषध कारोवारमा भारतीय मुलका नेपालीसँगै भारतीयहरुको समेत भूमिका देखिन थालेको छ । पछिल्ला घटनाहरुले खुला सीमानाका कारणले नेपाली किशोर किशोरी र युवापुस्तालाई लागु औषध दुव्र्यसनीको कुलतमा फसाउन भारतीय मुलका नेपालीसँगै भारतीयहरुको कनेक्टविटी बढ्दै गईरहेको छ । भारतीय उत्पादनले बजार पाएको नेपालमा चाडपर्वका बेला अबैध तथा गैरकानूनी व्यापार व्यवसाय समेत हुने गरेको छ । यस्तो बेला मानिसको मृत्यु कालगतिले हुनु सामान्य हो । रोगव्याधि र दुर्घटनाले हुनुचाहिँ असामान्य मान्नुपर्छ । चाडपर्वका बेला लागु औषधको सेवन गरी सवारी चलाउनेहरु दुर्घटनाको उच्च जोखिमा रहने गरेका छन् । सवारी दुर्घटनामा परि अंगभंग मात्र होइन, अकालमै मृत्यु वरण भएका थुप्रै घटना छन् । चाडपर्वमा झै–झगडा, जुवा तास, चोरी लुटपाट,मापसे, लापसे बढी हुने गरेको छ । दसै तिहारलगायतका पर्वमा हुनसक्ने आपराधिक घटनालाई लक्षित गरेर कर्णाली प्रहरीले विशेष सुरक्षा योजना बनाएर शान्ति सुरक्षालगायत ट्राफिक व्यवस्थापनमा कार्यान्वयनमा जुटेको छ ।
चाडपर्वको आपराधिक गतिविधि हुन नदिका लागि प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको छ भने शान्ति सुरक्षाका लागि प्रभावकारी रुपमा कार्यतालिका बनाइएको छ । चाडपर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरुलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न एकीकृत चाडपर्व सुरक्षा कार्य योजना अनुसार मोवाइल गस्ती, क्यूआरटी र पैदल गस्तीहरु परिचालन गरिएको छ । सवारी साधनलाई नियमन गर्नका लागि विशेष चेकिङको पनि योजना ल्याइएको छ । सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन, बैंक तथा वित्तीय संघसंस्थाहरुमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरूलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन् नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण कार्यलाई सुरक्षा निकायहरुले प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्छ । सुरक्षा निकायले ल्याएको सुरक्षा मापदण्डलाई आम नागरिकले समेत साथ सहयोग दिनु पर्छ । चाडपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छित÷आपराधिक क्रियाकलापहरु रोकथाम तथा नियन्त्रण गर्दै नागरिकहरुले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न सबै तह र तप्काको भूमिका र दायित्व रहुन्छ ।

