२०८३ असोज २८ , बुधबार
Sky News Nepal
October 14, 2026

रफाहमा कारबाही नगर्न इजरायली प्रधानमन्त्रीलाई चौतर्फी दवाव



काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टिनी नागरिकको सुरक्षा सुनिश्चित गर्ने उपायबिना रफाहमा सैन्य कारबाही नगर्न इजरायली प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको टेलिफोन सम्वादमा राष्ट्रपति बाइडेनले रफाहमा रहेका १० लाख भन्दा बढी मानिसको सुरक्षा गर्न इजरायलले विश्वसनीय र कार्यान्वयनयोग्य योजना बनाउन आवश्यक रहेको औल्याए ।

इजरायलले आफ्नो योजनाबद्ध आक्रमणलाई लिएर बढ्दो अन्तर्राष्ट्रिय चेतावनीको सामना गरिरहेको छ । प्रधानमन्त्री नेतन्याहुले भने आक्रमण योजना अगाडि बढ्ने कुरामा जोड दिदै सुरक्षा योजना पनि तयार भइरहेको जानकारी दिए ।

रफाहमा इजरायली सैन्य कारबाही सुरु भएको खबर सार्वजनिक भएसँगै दुई नेताबीच टेलिफोन सम्वाद भएको ह्वाइट हाउसले जनाएको छ ।

इजरायली आक्रमणको योजनाप्रति सहयोगी, अन्तर्राष्ट्रिय संस्था र क्षेत्रीय शक्तिहरूले पनि चिन्ता व्यक्त गरेका छन् । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले पनि रफाह क्षेत्रको संवेदनशीलताप्रति इजरायलको ध्यानाकर्षण गराएका छन् ।

साउदी अरबले पनि रफाहमा इजरायलले आक्रमण गरेमा गम्भीर परिणाम निस्कने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले गाजापट्टिको सुदूर दक्षिणमा रहेको सहरमा आश्रय लिइरहेका १५ लाख प्यालेस्टिनीका लागि कतै सुरक्षित ठाउँ नभएको बताएको छ ।

इजरायली सेनाको आदेशमा गाजास्थित आफ्नो घर छोड्न बाध्य लाखौं शरणार्थीहरु अहिले शिविरका पालमुनि बसिरहेका छन् ।

यसैबीच, रफाहमा आक्रमण भए त्यहाँ दशौं हजार हताहत हुनसक्ने हमास अधिकारीहरूले चेतावनी दिएका छन् । द्वन्द्वले इजरायली बन्धकहरूको रिहाइ र युद्धविराम सम्बन्धी वार्तालाई पनि कमजोर बनाउने उनीहरुको दाबी छ ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमबार
Translate »