अब ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण उठाउने

काठमाडौं । सरकारले उठाउँदै आएको आन्तरिक ऋणको निष्कासन अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको छ । हालसम्म यो काम नेपाल राष्ट्र बैंकले गर्दै आएकोमा सार्वजनिक ऋण व्यवस्थापन ऐन २०७९ को प्रावधानअनुसार उक्त काम अब कार्यालयले गर्न लागेको हो ।

कार्यालयले आइतवार सूचना जारी गर्दै आन्तरिक ऋणसँग सम्बद्ध ऋणपत्र निष्कासन तथा भुक्तानी कारोबार नेपाल राष्ट्र बैंकको समन्वयमा गरिने जानकारी दिएको छ । यस्तै राष्ट्र बैंकले पनि सोमवारदेखि ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुने बताएको छ ।

ऐनमा राष्ट्र बैंकको समन्वयमा ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण निष्कासन तथा बोलकबोल तालिका मन्त्रालयबाट स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था छ । ऐन कार्यान्वयनमा आएको १ वर्षपछि ऋण व्यवस्थापन कार्यालयले उक्त काम शुरू गर्न लागेको कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिए ।

ऋण व्यवस्थापन कार्यालयले पहिलोपटक सोमवार १३ अर्ब ५ करोड रुपैयाँको टे्रजरी बिल्स नवीकरणका लागि आवेदन आह्वान गरेको छ । त्यसमध्ये ९१ दिन अवधिको ऋणपत्र ७ अर्ब ७५ करोड र १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँको छ ।

उक्त टे्रेजरी बिल्सका लागि राष्ट्र बैंकले प्रयोग गर्दै आएको अनलाइनका अलावा ऋण व्यवस्थापन कार्यालयले बनाएको प्रणालीमार्फत बोलकबोल गर्नुपर्ने व्यवस्था छ । कार्यालयले अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) निर्माण गरेको छ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य सार्वजनिक गरेको थियो । फागुनसम्ममा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाइसकेको छ । बैंक, वित्तीय संस्थामा अधिक तरलता भई ब्याजदर घटेपछि सरकारले चालू आवको शुरूमै आन्तरिक ऋण उठाउन थालेको हो । त्यसका लागि दुईपटक आन्तरिक ऋण निष्कासन तालिका संशोधन गरेको छ ।

सरकारले छोटो अवधिका लागि ट्रेजरी बिल्स र लामो अवधिका लागि विभिन्न ऋणपत्रबाट आन्तरिक ऋण उठाउने गरेको छ । त्यसमध्ये ट्रेजरी बिल्समा बैंक तथा वित्तीय संस्थाले लगानी गर्दै आएका छन् । विकास ऋणपत्रमा भने बैंक तथा वित्तीय संस्थाका अतिरिक्त विभिन्न पेन्सन फन्ड, बीमा कम्पनीहरूले पनि लगानी गर्न पाउँछन् । आर्थिक अभियान

Translate »