

सुर्खेत । अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को कानुनी व्यवस्थाअनुसार सोमबार (असार १०) सम्म कर्णालीका ७९ पालिकामध्ये पाँचले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेनन् । आन्तरिक विवाद र तयारी नपुग्दा कानुनी व्यवस्थाअनुसार अन्तिम दिन असार १० सम्म पनि बजेट ल्याउन नसकेका हुन् ।
संविधानतः स्थानीय तहले १० असारमै बजेट ल्याइसक्नुपर्ने हुन्छ भने असार मसान्तभित्र सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । कतिपय पालिकाले बजेट ल्याएपनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा अपलोड हुन ढिलाई भईरहेकाले यकिन तथ्यांक मंगलबार बेलुकासम्म आइपुग्ने मन्त्रालयका सूचना अधिकारी अश्विनकुमार पोखरेलले स्काई न्यूजलाई जानकारी दिए ।
कर्णालीमा ७९ वटा तहहरू मध्ये ७४ वटा पालिकाले बजेट पेस गरिसकेका छन् । आन्तरिक तयारी नपुगेको एवं हिसाबकिताब नमिलेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका, कालिकोटको पचालझरना गाउँपालिकासँगै हुम्लाको अदानचुली र चंखेली गाउँपालिकाले बजेट सार्वजनिक गर्न सकेनन् । सुर्खेतको भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा भने गणपूरक संख्या नपुगेपछि नगरसभा स्थगित गरिएको छ ।

यीमध्ये कतिपयले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेका छन् भने बजेट ल्याएका मध्ये धेरैजसोले योजनागत बाँडफाँट गरेर सार्वजनिक गर्न सकेका छैनन् । संघीय अनुदान कटौतीसँगै आन्तरिक आय बढाउन नसकेका धेरैजसो पालिकाले बजेटको आकार बढाउन सकेका छैनन् । आगामी बजेटमा अघिल्ला वर्ष जस्तै यातायात, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका छन् । २५ नगरपालिका र ५४ गाउँपालिका रहेको कर्णाली प्रदेशका ७९ पालिकामध्ये २० वटाले मात्रै मन्त्रालयमा बजेट प्रविष्ट गरेका छन् ।
तर, कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाले भने ३ अर्ब ५९ करोड १८ लाख ६८ हजार ९ सय ९९ रुपैयाँ बराबरको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको भन्दा बढी हो । चालु आर्थिक वर्षमा ३ अर्ब २ करोड ६१ लाख बराबरको बजेट ल्याएको थियो । वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पतालको लागि ४ करोड ५ लाख ५८ हजार बजेट विनियोजन गरेको छ ।
पूर्वाधारलाई विशेष जोड दिदै घण्टाघर पार्क लगायत सुर्खेत उपत्यका नगर विकास समिति तथा नगरपालिकाबाट खाली गराइएका सार्वजनिक जग्गामा पार्क तथा पार्किङस्थल निर्माणका लागि ७ करोड ५० लाख र मंगलगढीमा आकाशे पुलका लागि १ करोडसहित नगरको विविध भौतिक पूर्वाधार विकासका लागि २५ करोड ८५ लाख ५० हजार वजेट विनियोजन गरिएको छ ।











