१६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको एटिआर-४२ जहाजको बिदाई
काठमाडौं । १६ वर्ष नेपाली आकाशमा उडेको बुद्ध एयरको नाइनएन-एआइएन जहाजको उडान बन्द हुने भएको छ । उडान अवधिभर विमानबाट १८ लाख यात्रुलाई उडान सेवा दिएको यो जहाज बुद्ध एयरले सन् २००८ मा नेपाल ल्याएको थियो । विमान निर्माता कम्पनीले तोकेको जम्मा उडान संख्याको साइकल पुरा भएपछि उक्त विमानलाई उडानबाट बिदाई गरिएको हो ।
प्राविधक तवरले जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्ने गर्दछ । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने तथा विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा अतिरिक्त उडान गर्न पाइदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।
विगत १६ वर्षमा बुद्ध एयरले १९ वटा एटिआर जहाजहरू भित्र्याइसकेको छ । बुद्ध एयर एटिआर अपरेटरतर्फ संसारकै सातौँ ठूलो एयरलाइन्स कम्पनी बनेको छ ।
बिदाई गर्न लागेको जहाज नेपाली रजिष्ट्रेशन 9N-AIN तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर MSN403 ले व्यवसायिक उडानमार्फत ७० हजार उडान अनावरण पुरा गरेको छ । १६ वर्ष ३ दिने उडानका अवधिमा यसले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको बुद्ध एयरले जनाएको छ ।
एटिआरले अहिलेससम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटिआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी बिदाई गर्न लागेको विश्वमै यो पहिलो पटक भएको कम्पनीको दाबी छ ।
उक्त जहाजको बिदाई कार्यक्रममा ‘एटिआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । यसैगरी टीआरका प्रतिनिधि पवन तनवनीले बुद्ध एयरको जहाजका दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरूको पनि उपस्थिति थियो ।