सरकारी कार्यालयमा ‘टीएमएस’ चलाउन प्रतिबन्ध
काठमाडौं । सरकारले सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउने नमिल्ने व्यवस्था गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, कार्यालय,सचिवालय र स्थानीय तहका कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहदरबारभित्र कार्यलय समसयमा कर्मचारीले टीएमएस चलाउँदा सेवाग्राहीको काममा प्रभावित भएको भन्दै प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेपछि आजबाट बन्द गर्न निर्देशन गएको हो ।
जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिए । सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य भएको प्रधानमन्त्री ओलीको भनाई छ । सामाजिक सञ्जालमार्फत ओलीले सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न निर्देशन दिएका छन् ।
‘सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ ।’ उनले भनेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।’