जग्गा कित्ताकाट खुल्यो, पुन: समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई मन्त्रीको आग्रह

काठमाडौं । लामो समय देखि रोकिएको जग्गा कित्ताकाट खुलेको छ ।  सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । २०७६ सालमा भूउपयोग नीति लागू गर्ने तथा अव्यवस्थित भूमि खण्डिकरणलाई रोक्ने भन्दै सरकारले देशैभरी जग्गा वर्गीकरण शुरु गरेको थियो । जग्गा वर्गीकरणको जिम्मा सरकारले स्थानीय तहलाई दिएको थियो । तर स्थानीय तहले समयमै वर्गीकरणको काम नगर्दा कित्ताकाट रोकिएको थियो ।


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार देशभरका ७५३ पालिकाहरू मध्ये १९३ ले मात्र जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छन् । अन्य पालिकाहरूले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।
कित्ताकाट खुलेसँगै मङ्गलवारबाट देशभरका सबै मालपोत कार्यालयमा कित्ताकाटको काम शुरु भएको भूमिव्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।  जग्गा कित्ताकाट  रोकिएकै कारण नेपाली अर्थतन्त्र समेत शिथिल हुँदै गएकोको भन्दै यस क्षेत्रका व्यवसायी लगायतले कित्ताकाट खुला गर्न सरकारलाई दबाब दिँदै आएका थिए ।

कित्ताकाट खुलेसँगै भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुन: समस्या नआउने गरी काम गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । चालु आर्थिक वर्षभित्र सबै पालिकाहरूले प्रक्रिया पुरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गरेका हुन ।

Translate »