माथिल्लो कर्णाली बनाउन ३ भारतीय कम्पनी जुटे
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन डेढ दशकसम्म लगानी जुटाउन नसकेपछि भारतीय कम्पनी जीएमआरले दुई अन्य भारतीय कम्पनीलाई साझेदारको रूपमा भित्त्याएको छ ।
जीएमआरले एसजेभीएन लिमिटेड र इन्डियन रिन्युएबल इनर्जी डेभलपमेन्ट एजेन्सी (इरेडा) सँग मिलेर ९०० मेगावाटको उक्त आयोजना बनाउन सम्झौतापत्रमा हस्ताक्षर गरेको भारतीय पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणमा उल्लेख छ ।
विगतमा वित्तीय व्यवस्थापनमा समय लागेको भन्दै कम्पनीले म्याद बढाउन सरकारलाई आग्रह गर्दा सरकारले म्याद थप गर्दै आएको थियो । आयोजना नबनाइकन पटकपटक म्याद थप गरेको भन्दै मुद्दा परेपछि गतवर्ष सर्वोच्च अदालतले दुई वर्षअघि अन्तरिम आदेशमार्फत वित्तीय व्यवस्थापन रोकेको थियो । उक्त आदेशविरुद्ध सरकारले पुनरवलोकको लागि सर्वोच्चमा निवेदन दिएको थियो । गतवर्ष वैशाखमा सर्वोच्चले अन्तरिम आदेश खारेज गरेपछि पुन: वित्तीय व्यस्थापनको काम अघि बढाउन जीएमआरलाई बाटो खुलेको थियो ।
यो सम्झौतासँगै उक्त परियोजना अब अघि बढ्ने संकेत देखिएको छ । भारतीय सरकारको स्वमित्व रहेका एसजेभीएन र इरेडाले उक्त परियोजना अघि बढाउन नेपालमा स्थापित कम्पनीको अधिकतम शेयर किनेर लगानी अघि बढाउने सम्झौता गरेका हुन् ।