साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुर्खेतमा आजदेखि सुपथ मूल्य पसल सञ्चालन

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनद्वारा शुभारम्भ

सुर्खेत । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले कर्णाली प्रदेशको सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

कर्पोरेसनले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । सोमबार राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले साल्ट ट्रेडिङ कर्पोरेसन सुर्खेत शाखामा एक कार्यक्रमका वीच सुपथ मूल्य पसलको औपचारिकरुपले शुभारम्भ गरेका हुन् ।

उनले सुपथ मूल्य पसलको उद्घाटन गर्दै कर्णाली जस्ता दुर्गममा नून र चीनि मात्र होइन, मागमा आधारित थप अत्यावश्यक वस्तुको विविधिकरण गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई सुझाव दिए । उनले भने, ‘उपभोक्तालाई सितैमा दिने होइन, फाइदा खाएर वेच्ने चीजमा पनि कर्णालीमा किन कन्जुसाई गरेको  ? माग अनुसारको वस्तुको विविधिकरण गरी आपूर्ति गर्न कर्पोरेसनले ढिलाई गर्नु हुँदैन् ।  काठमाडौ र कर्णालीका उपभोक्ता वीच विभेद गर्न पाईदैन् ।’

उनले कर्णालीमा सरकारी स्तरबाट मात्र सुपथ मूल्य पसल सञ्चालन गरेर नपुग्ने भन्दै नीजि क्षेत्रबाट समेत आफ्नो सामाजिक उत्तरदायित्व बुझेर चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न उद्योगी, व्यापारीलाई आग्रह गरे । सुपथ मूल्य पसल उद्घाटन गर्दै अध्यक्ष महर्जनले साल्ट ट्रेडिङ कर्पोरेसनबाट सञ्चालन हुने सुपथ मूल्य पसल कर्णालीका १० वटै जिल्ला र ७९ वटै पालिकासम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।


कर्पोरेसनसँग भएको स्रोतसाधन र जनशक्तिलाई परिचालन गरेर सुपथ मूल्य पसल पालिकास्तरसम्म विस्तार गर्न सकियो भने कर्पोरेसनको आफ्नै व्यापार विस्तार हुने उनले बताए । अध्यक्ष महर्जनले यो वर्ष सम्भव नभए पनि आगामी वर्षदेखि  कर्पोरेसनले आफ्नो उपस्थिति पालिकासम्म पुग्ने गरी योजना बनाउन सुझाव दिए ।

आजदेखि सञ्चालन गरिएको सो पसल आगामी कात्तिक २२ गतेसम्म जारी रहने सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसन सुर्खेत शाखा प्रमुख नवराज अकौलियाले बताए । उनले सुर्खेत सदरमुकाम मात्र नभई स्थानीय तहले समेत सहकार्य गरेमा गाउँ–गाउँसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न सकिने जनाए ।

उनका अनुसार जनताप्रति जवाफदेही स्थानीय तहले कर्पोरेसनसँग सहकार्य गर्न सके धेरै भन्दा धेरै उपभोक्तालाई सुपथ मूल्यको सामाग्री उपलब्ध गराउने सकिनेछ । उपभोक्ताले नून प्रतिकिलो रु २४, चिनी प्रतिकिलो रु १०२.५० पैसा प्रतिकिलो रु दईदेखि पाँचसम्म  छुट पाउने कर्पोरेसनले जनाएको छ ।

कर्पोरेसनले  कर्णालीको सुर्खेतसहित देशभर करिब ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको जनाइएको छ ।  पसल बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । सरकारले यो वर्ष चाडर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि अधिकृतम् प्रयास गरेपनि कर्णालीका सुर्खेत बाहेक अन्य जिल्लाका उपभोक्ताले लाभ लिन सकेका छैनन् ।

दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालन गरेर सहुलियत दिएपनि अधिकांस सुगमका उपभोक्ताले लाभ पाएका छन् । तर अहिले पनि कर्णाली जस्ता दुर्गमका बासिन्दासम्म सुपथ मूल्य पसलहरुको अनुभूति दिन राष्ट्रिय उपभोक्ता मञ्चले सरकारसँग माग गर्दै आईरहेको छ ।

Translate »