बाँके प्रहरीद्वारा दश करोड २६ लाख बराबरको राजस्व सङ्कलन
बाँके । राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न बाँके प्रहरी सक्रिय रहेको छ ।
तस्करी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने क्रममा बाँके प्रहरीले गत आर्थिक वर्षमा १० करोड भन्दा बढी मूल्य बराबरको राजश्व सङ्कलन गरिएको जनाएको छ । उक्त राजस्व चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायत शीर्षकबाट सङ्कलन भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आव २०८०/०८१ मा अवैध रुपमा भन्सार छली तथा बिलबीजक नभएका अवैध सामानहरू रु ४ करोड ५५ लाख ४ हजार ६ सय ४३ बढीको बरामद गरिएको उल्लेख छ ।
बाँके प्रहरीका अनुसार ट्राफिक कारबाहीबाट रु २ करोड ६५ लाख ७६ हजार ५ सय ४६ राजस्व सङ्कलन भएको थियो ।
नदीजन्य पदार्थ दोहनबाट ४ लाख १० हजार, स्रोत नखुलेको रु. १ करोड ६४ लाख २८ हजार ३ सय, फरार प्रतिवादीबाट १ करोड ९६ हजार ९ सय २६, हुन्डी कारोबार गर्नेहरूबाट २४ लाख ६२ हजार ३ सय १५ र अवैध बोईलर कुखुराबाट ११ लाख ३६ हजार ७ सय गरी जम्मा १० करोड २६ लाख १२ हजार ३ सय ८४ रुपैयाँ सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जिप्रका बाँकेका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले राज्यको कानुन कार्यान्वयनका क्रममा फैसला कार्यान्वयनबाट पक्राउ, अवैध भन्सार छली, ट्राफिक कारबाही लगायत कार्यबाट नेपाल प्रहरीले वार्षिक ठूलो परिमाणमा राजस्व सङ्कलन गर्दै आएको बताए ।