नेपाल टेलिकमको मोबाइल सेवामा समस्या


सुर्खेत । नेपाल टेलिकमको मोबाइल सेवामा आज बिहान केही समयका लागि समस्या देखिएको छ ।
सेवाग्राहीहरूले मोबाइल फोन नलाग्ने र एसएमएस नजानेजस्ता समस्याहरूको सामना गरेका थिए । नेपाल टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार आज बिहान ११ बजेपछि विभिन्न स्थानमा टेलिकमको नेटवर्कमा समस्या उत्पन्न भएको थियो । उनले भने, ‘प्रणालीमा देखिएको समस्यालाई समाधान गरेर सेवा पुनः सञ्चालनमा ल्याएका छौं।’

यसअघि पनि गत १० असारमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । पछिल्लो समय टेलिकमको सेवामा बारम्बार यस्तो समस्या आउने गरेको छ, जसले सेवाग्राहीहरूलाई असुविधामा पारेको छ ।
नेपाल टेलिकमले सेवामा समस्या आउँदा आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत कुनै जानकारी उपलब्ध गराएको छैन । पुराना बिलिङ प्रणाली र अन्य प्रणालीहरूको मर्मत सम्भार र अद्यावधिक नगर्दा सेवा अवरुद्ध हुने समस्याहरू दोहोरिने गरेको देखिन्छ।

