२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

धितोपत्र बजारको डिजिटाईजेसनले कर्णालीका लगानीकर्ताको आकर्षण बढ्दै



सुर्खेत । नेपालको धितोपत्र बजारमा कार्यान्वयन गरिएका सुधार तथा डिजिटाइजेसनका कारण लगानीकर्ताको आकर्षण बढ्दो छ ।

विश्व लगातीकर्ता सप्ताहको अवसरमा नेपाल धितोपत्र बोर्डले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको लगानीकर्ता शिक्षा सचेतना कार्यक्रममा पछिल्लो समय पूँजी बजारमा नौला प्राविधिक औजारको प्रयोगले शेयर किनबेच गर्न कम झञ्झटिलो र छरितो बनेपछि कर्णाली जस्ता दुर्गमका लगानीकर्ताको आकर्षण बढेको पाईएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीका लगानी कर्ताहरुको पूँजीबजार तर्फ आकर्षण बढ्दोक्रममा रहेपनि नेपाल धितोपत्र बोर्डले थप सचेतना तथा पूँजी बजार साक्षरता सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । उनले दुर्गम स्थानका साना–साना पूँजीलाई एकत्रित गरी पूँजीबजारलाई थप विस्तार गर्न सकिने पर्याप्त सम्भावनाहरु रहेको समेत औल्याए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक श्यामु मण्डलले विश्व लगातीकर्ता सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरुलाई शिक्षा, सचेतना, र बजारका विभिन्न पक्षहरुमा जानकारी प्रदान गर्नु रहेको बताए । उनले सप्ताहव्यापी अभियानले लगानीकर्तालाई सही निर्णय लिन सहयोग पु¥याउने र बजारमा हुने जोखिमबाट बच्न शिक्षित बनाउन सहयोग पुग्ने आफुहरुले विश्वास लिएको जनाए ।

लगानीका आधारभूत कुराहरु, प्रविधि तथा डिजिटल वित्त, दिगो वित्त, र धोखाधडी तथा घोटाला रोकथामजस्ता मुख्य विषयवस्तुहरु समावेश गरिएको कार्यपत्र प्रस्तुत गर्दै निर्देशक मण्डलले लगानीका आधारभूत सिद्धान्तहरु, जोखिम व्यवस्थापन र नयाँ लगानीका अवसरहरुको बारेमा समेत जानकारी दिए ।

उनका अनुसार विश्व लगानीकर्ता सप्ताह मार्फत लगानीकर्ताहरुलाई विश्वस्तरीय ज्ञान र अनुभव प्राप्त गर्ने अवसर नेपाल धितोपत्र बोर्डले देशव्यापी प्रदान गरिरहेको छ । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक विकल देवकोटाले वित्तीय साक्षरताको आवश्यकता, सेयर बजारको संक्षिप्त जानकारी, धितोपत्र बजारका संयन्त्रहरुको जानकारी, धितोपत्र बोर्डको उद्देश्य तथा कार्यहरु अनि लगानीका औजारहरु, कुन प्रकृतिका लगानीमा सजग रहने तथा लगानीकर्ताले जान्नै पर्ने विषयहरुको बारेमा चर्चा गरे ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, संघका महासचिव भद्र भण्डारी, पूर्व सुउवासंघका अध्यक्ष धनबहादुर रावत, नेपाल स्टक एक्सचेञ्जका वरिष्ठ आईटी अधिकृत प्रभाकर घिमिरे, एम्पेरियल सेक्युरिटिज बाँकेका शाखा प्रबन्धक उदय अधिकारी, एम्पेरियल सेक्युरिटिज सुर्खेतका शाखा प्रबन्धक कविता अधिकारी र नेपाल युवा उद्यमी मञ्च, सुर्खेत च्याप्टरका अविनाश थानीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक ६ गते मंगलबार
Translate »