२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

बाँकेमा सीमावर्ती क्षेत्रका किसानलाई दूध बेच्नै सकस



काठमाडौं । खुला सीमाका कारण बाँकेमा दूध उत्पादक किसान मारमा परेका छन् । भारतबाट निर्वाधरुपमा दूध आउँदा बाँकेमा दूध उत्पादक किसान मर्कामा परेका हुन् । यसले गर्दा एकातिर नेपाली किसानले उचित मूल्य पाएका छैनन् भने अर्कोतर्फ नेपाली उपभोक्ताले गुणस्तर हीन दूध खरिद र सेवन गरिरहेका छन् ।

दैनिक भारतबाट आउने सस्तो मूल्यको सयौँ लिटर दूधका कारण बाँकेमा उत्पादित दूधले बजार पाउन मुस्किल भएको छ । आयातित दूधका कारण ऋण कर्जा गरेर कृषि फार्म सञ्चालन गरेका किसानहरू मर्कामा परेका छन् । दूध उत्पादक किसान धनीराम कोरी अस्वस्थ प्रतिस्पर्धाका कारण घाटा सहेर पनि आफूहरू सस्तो मूल्यमा दूध बिक्री गर्न बाध्य भएको बताए । आफूहरूले दूधको मूल्य नै पाउन नसकेको उनको भनाई छ ।

अर्का किसान धिरजराम यादव भारतबाट निर्वाधरुपमा दूध आउँदा आफूहरूको दूध बिक्री हुनै छाडेको दुःखेसो सुनाए। यादव भारतीयहरूले कमसल दूध सस्तोमा दिँदा आफूहरूले उत्पादन गरेको शुद्ध दूधले पनि बजार पाउने अवस्था नरहेको बताए । भारतीय किसानहरू आफैँ दूध बेच्न नेपाल आउने गर्दछन् । उनीहरूले यहाँ प्रतिलिटर ५० देखि ८० रुपैयाँसम्ममा दूध बेच्ने गरेका छन् । जानकारहरूका अनुसार भारतबाट आउने सस्तो मूल्यको दूध पाउडर तथा अन्य केमिकलबाट बनाइने भएकोले गुणस्तर हीन हुने गरेको छ । जसले मानव स्वास्थ्यमा असर गर्ने जोखिम उच्च छ ।

भारतबाट आउने दूधमा लेदो पर्ने, छोक्रा आउने, डल्ला पर्ने र चाँडो बिग्रिने गरेकोले बेला बेलामा दूध नष्ट गर्दै आएको पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय नेपालगञ्जले जनाएको छ । भारतबाट आउने गुणस्तर हीन दूध स्वास्थ्यका लागि हानिकारक देखिएको कार्यालय प्रमुख पशु स्वास्थ्य प्राविधिक विजयकुमार थारुले बताए । रेडियो नेपाल

प्रकाशित मिति : २०८१ कात्तिक ११ गते आइतबार
Translate »