कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा ‘सुर्खेतको ईतिवृत्त–२’ पुस्तकको विमोचन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुर्खेतको इतिहास समेटिएको पुस्तक ‘सुर्खेतको इतिवृत्त–२’ विमोचन गरेका छन् ।
जिल्ला समन्वय समिति सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्दै मुख्मन्त्री कँडेलले सम्भ्यता र संस्कृतिको विकासबिना पूर्वाधारको विकासले मात्र समाज रुपान्तरण सम्भव नभएको बताए । उनले पुस्तकमा दस्तावेजिकरण गरिएका तथ्यका आधारमा जिल्लाको विकास नीति तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘जिल्लाको पहिचान दिलाउन सबैको भूमिका उत्तिकै जरुरी हुन्छ । सबैले हातेमालो गरेर विकास निर्माणमा जुट्नुपर्छ,’ उनले भने, ‘पद र जिम्मेवारी फरक–फरक भएपनि सबैको गन्तव्य एउटै भएकाले आगामी दिनमा पनि सुर्खेतको ईतिहासबारे थप खोज, अनुसन्धान तथा अन्वेषण गर्न आवश्यक छ ।’
पत्रकार सुशीलराज शर्माद्वारा लिखित ‘सुर्खेतको इतिवृत्त–२’ पुस्तकमा जिल्लाको भौगोलिक, सामाजिक, राजनीतिक, प्रशासनिक, जनसांख्यिक अवस्था एवं जनविश्वास र मूल्यलाई जीवन्त ढंगले लिपिबद्ध गरिएको छ । जिल्लाको शिक्षा, खेलकुद, कला, साहित्य, संगीत लगायतका विविध पाटोलाई तथ्यपरक ढंगबाट पुस्तकमा चर्चा गरिएको छ ।
पुस्तक जिल्लाको सामान्य जानकारीसँगै स्थानीय पाठ्यक्रम बनाउनका लागि र प्राज्ञिक अध्ययन तथा अनुसन्धान गर्न उपयोगी हुने मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले बताए । पुस्तक अंग्रेजी र नेपाली भाषामा लेखिएको छ ।