

मुगु । रारा विमानस्थल ताल्चामा निर्माणाधीन टर्मिनल भवनको करिब १४ फिट गहिरो शौचालयको सेप्टिक ट्याङ्कीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
छायानाथ रारा नगरपालिका–४ भामवाडाका गौरव भामको सेप्टिक ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख (डीएसपी) रविराज थपलियाले जानकारी दिए ।

उनका अनुसार गौरवसहित अर्की एक बालिका पौडी खेल्न निर्माणाधीन सेप्टिक ट्याङ्कीमा पुगेका थिए। गौरव ट्याङ्कीभित्र पसेर डुबेका थिए भने बालिका भने ट्याङ्कीमा नपसेका कारण सकुशल रहेकी छन् ।
प्रहरीका अनुसार निर्माणाधीन सेप्टिक ट्याङ्की खुला अवस्थामा रहेको र विमानस्थलको तार जालीबाट बालबालिका निर्माण स्थलभित्र प्रवेश गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार









