सुर्खेतमा ‘फुड फेस्टिभल’ शुरु
सुर्खेत । स्थानीय रैथाने परिकारको प्रवद्र्धनका लागि अंग्रेजी नयाँ वर्षको अवसर पारेर सुर्खेतमा ‘फुड फेस्टिभल’ शुरु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर स्थित शुभ होटल प्रालिले पुस १६ गतेसम्म सञ्चालन हुने फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएको छ । कर्णालीका रैथाने बाली तथा स्थानीय उत्पादनहरुको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा ४८ वटा स्टलमा कर्णालीका कृषकले उत्पादन गरेका विभिन्न वस्तुहरु प्रदर्शनीमा राखिएका छन् ।
फुड फेस्टिभलमा राष्ट्रिय कलाकारसँगै स्थानीय हुड्केलगायत परम्परागत सांस्कृतिक प्रस्तुति समेत रहेको होटलका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए । उनले उद्योग व्यवसायी र कृषकको हितका लागि कर्णालीको उद्योग, पर्यटन मन्त्रालय र कृषि मन्त्रालयमा मन्त्री र सचिवसहितको टोलीसँग अन्तक्रिया कार्यक्रम आज सम्पन्न गरिएको जानकारी दिए ।
उनका अनुसार फेस्टिभल अवधिभर शुभ होटलले प्रदान गर्ने सेवाहरुको बजारीकरण गर्ने, रैथाने बालीहरुबाट बन्ने परिकारहरु निःशुल्क रुपमा चखाउने, केही परिकारहरु केही प्रतिशत छुटमा बिक्री गर्ने, अन्य केही व्यापारिक स्टलहरु पनि राखेर स्थानीय उत्पादित वस्तु तथा फुडका परिकारहरु प्रदर्शनी गर्नु फेस्टिभलको मुख्य उद्देश्य रहेको छ । फुड फेस्टिभलमा राखिएका रैथाने परिकारसँगै दैनिक उपभोग्य वस्तहरुप्रति उपभोक्ताको आकर्षण रहेको आयोजकले बताएका छन् ।