गुलरियामा नहर विस्तार सुरु

बर्दिया । बबई सिचाई आयोजनाले गुलरिया नगरपालिकामा पनि सिँचाईको काम अगाडी बढाएको छ ।

आयोजनाको कार्यक्षेत्र रहेका बर्दियाका ६ ओटा पालिकाहरू मध्ये अन्तिम नगरपालिका गुलरिया नगरपालिकामासमेत नहर विस्तारको काम अगाडी बढाएको हो । बबई सिचाई आयोजनाले बर्दिया जिल्लाका ठाकुरबाबा, मधुवन, बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाको ३६ हजार हेक्टर जमिनमा सिचाई पुर्‍याउने लक्ष्य राखेको थियो ।

जसमध्ये पश्चिम नहरको २१ हजार हेक्टर मध्ये गुलरिया नगरपालिकाको ७ हजार हेक्टरमा पहिलो पटक काम सुरु भएको बबई सिचाई आयोजनाका प्रमुख शुसिल देवकोटाले बताए  ।  शाखा र प्रशाखा नहर सहित करिब १५ किलोमिटर नहर निर्माणका काम आज देखि सुरु भएको बताउँदै तिन बर्ष भित्र नै निर्माण कार्य सम्पन्न हुने उनले  जनाए ।

नहर निर्माणका लागि जग्गा अधिग्रहण, ठेक्का लगाएतका सम्पूर्ण कार्य सम्पन्न भएको छ । मूल नहर करिब ४ किलोमिटर र शाखा नहर १० दशमलव ७ किलोमिटर लामो रहेको छ । स्वच्छन्द निर्माण सेवा,काठमाडौंले लिएको ठेक्का बन्दना भगवती ब्ल्याक बक कम्पनी बर्दियाले कामको जिम्मा लिएको हो । ८३ करोडको लागतमा ठेक्का लिएको ब्ल्याक बक निर्माण कम्पनीका सञ्चालक विमल केसीले बताए ।

विगतको वर्षहरुमा बजेट अभावले आयोजनाको काम अगाडि बढ्न नसकेपनि यस बर्ष आयोजनामा र सिचाई विभागमा बजेटको अभाव नरहेको आयोजना प्रमुख देवकोटाले बताए । गत आर्थिक बर्ष सम्म अघिल्लो आर्थिक वर्षको बक्यौता तिर्ने रकम समेत नपुग्ने गरेको थियो । यस बर्ष देखि सरकारले नै बबई सिचाई आयोजनाको काम सकाउने योजनाका साथ अगाडि बढेको उनले जनाए ।

नहर निर्माण कार्यको शिलान्यास गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले नहर आइसकेपछि कृषकहरूलाई धेरै फाइदा हुने बताए । उनले महँगो खर्चमा भूमिगत पानीको प्रयोग गरेर खेती गर्नुपर्ने बाध्यता नहुने जनाए ।

गुलरिया नगरपालिका क्षेत्रमा नहरको पानीले सिचाई होला भन्ने सोच्दै नसोचेको गुलरिया नगरपालिका वडा नं १ का विजय यादवले बताए । उनले भने, ‘अब गुलरियामा पनि खेतीपाती गर्न सजिलो हुने भयो । गुलरिया नगरपालिका पहिले सुख्खा क्षेत्र थियो । भूमिगत स्रोतको पानीले मात्र खेती हुने यस क्षेत्र नहर आउने भएपछि कृषकहरू हर्षित भएका छन् ।

गुलरिया नगरपालिकामा निर्माण नहर निर्माण भएसँगै बर्दिया जिल्लाका सम्पूर्ण नगरपालिका सिचाई युक्त हुनेछन् । भेरीको पानी बबईमा झारिसकेपछि सिँचाईका लागि पर्याप्त पानी पुग्ने आङ्कलन गरिएको छ ।

 

Translate »