नेपालमा २ लाख टन गहुँ निर्यात गर्न भारतले दियो अनुमति

`

काठमाडौं ।  भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले २०२५ जनवरी ४ मा जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई गहुँ निर्यात गर्न स्वीकृति दिएको जानकारी दिएको छ ।

सीमित आपूर्तिका कारण आन्तरिक मूल्य बढेपछि नेपालले केही महिनाअघि भारतलाई गहुँ आपूर्ति गर्न अनुरोध गरेको थियो ।  ‘केन्द्रीय सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) मार्फत नेपालमा २ लाख मेट्रिक टन गहुँ (एचएसएन १००१) निर्यात गर्न अनुमति दिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

भारतले सन् २०२२ को मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाललाई विशेष कोटा प्रणालीअन्तर्गत गहुँ आयात गर्न अनुमति दिएको हो । आन्तरिक उत्पादन कमी हुँदा र माग बढ्दै जाँदा नेपाल भारतीय गहुँमा निर्भर रहँदै आएको छ । नेपालमा उत्पादित गहुँले औद्योगिक प्रयोजनका लागि आवश्यक कुल मागको ७० प्रतिशत मात्र पूर्ति गर्ने तथ्यांक छ ।

नेपालले भारतबाहेक मेक्सिको, चीन, जापान, थाइल्याण्ड, बेलायत, बंगलादेशलगायतका देशहरूबाट पनि गहुँ आयात गर्दै आएको छ । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारत आठौं ठूलो गहुँ निर्यातकर्ता पनि हो। यस सूचीमा रूस, युरोपियन युनियन, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, युक्रेन, अर्जेन्टिना र क्यानडाजस्ता देश अगाडि छन् ।

यो निर्यातले नेपालमा गहुँको आपूर्तिमा सुधार ल्याउने र मूल्य स्थिरता कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । आर्थिक अभियान

Translate »