कर्णालीलाई चीनसँग जोड्ने सडक निर्माणमा बजेट अभाव
सुर्खेत । कर्णालीलाई चीनसँग जोड्ने सडकलाई बजेट अभाव हुँदा निर्माणमा ढिलाई भईरहेको छ । सरकारले भेरी करिडोर र गमगढी–नाक्चेनाग्ला सडक निर्माण मार्फत कर्णालीलाई चीनसँग जोड्न शुरु गरेपनि पर्याप्त बजेट अभावले निर्माण ढिलाई भईरहेको हो ।
भेरी करिडोर अन्तर्गत डोल्पाको दुनै–लसिक्याप–सिसौल–धो–तिन्जे हुँदै मरिम्ला जोड्ने सडक बजेट अभावमा लामो समयदेखि काम अलपत्र छ । सडक नबन्दा दैनिक उपभोग्य वस्तुका लागि डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोड, सेफोक्सुन्डो र मुगुको मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् ।
सडक निर्माणमा ढिलाइ हुँदा खाद्यान्न र अन्य सामान लिन हिँडेर सदरमुकाम दुनै जानुपरेको छार्काताङसोङ–१ का पाल्जोर तामाङले बताए । जिल्ला सदरमुकाम गएर चामल ल्याउन कम्तीमा चार दिन लाग्छ भने चीन सीमा पुग्न र फर्कन एक दिन मात्र लाग्ने गरेको तामाङले जनाए । संघीय सरकारले भेरी करिडोरअन्तर्गत जाजरकोट–दुनै सडकमा यस वर्ष १ अर्ब ४ करोड रुपैयाँ छुट्याइएकोमा बजेट कटौती भएपछि ५६ करोडको मात्र अख्तियारी आएको छ ।
उक्त रकमले तल्लुदेखि त्रिपुराकोटसम्म स्तरोन्नति हुने भेरी करिडोर आयोजना कार्यालयले जनाएको छ । करिडोरका सिनियर डिभिजनल इन्जिनियर सुनिल रञ्जितकारका अनुसार ट्¥याक खुलेपछि अलिअलि भएपनि बजेट आएपनि नयाँ ट्¥याक खोल्न तीन वर्षयता बजेट नै आएको छैन् ।
करिडोरअन्तर्गत डोल्पा सदरमुकाम दुनैदेखि काइके गाउँपालिकाको लसीक्यापसम्मको २५ किलोमिटर सडकमा सूर्य–श्रेया–शान्तिदेवी जेभीले तीन वर्षदेखि काम गरिरहेको छ । ठेकेदार कम्पनीलाई २०८२ पुस १६ सम्मको समय दिइए पनि अहिलेसम्म १५ प्रतिशत मात्र काम गरेको छ । उनले म्याद सकिन एक वर्ष मात्र बाँकी रहँदा कम्पनीले हालसम्म ४ किमि मात्र ट्¥याक खोलेको बताए ।
उक्त ठेक्का पनि सडक डिभिजन कार्यालय चौरजहारीमार्फत खोलिएको र त्यसयता नयाँ ट्¥याक खोल्न बजेट नआएको उनले जानकारी दिए । त्यसभन्दा माथि लसिक्यापदेखि सिसौलसम्मको ३५ किमि सडकमा भने अझै ट्¥याक खुलेको छैन । उक्त खण्डमा कडा चट्टान र भीर भएकाले नेपाली सेनालाई जिम्मा दिने तयारी भइरहेको रञ्जितकारले बताए ।
सेनालाई जिम्मा दिनेबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी छ । सडक निर्माणका लागि सेनाले पनि प्रारम्भिक स्थलगत अध्ययन गरिसकेको छ । सेनाले प्रारम्भिक अध्ययनका आधारमा पेस गरेको फाइल रक्षा मन्त्रालय हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गइसकेकाले अब मन्त्रिपरिषद्बाट निर्णय भएपछि सेनाले काम थाल्ने उनले जनाए । उनका अनुसार विस्तृत वातावरणीय प्रभाव मूल्यांकन पनि सकिएकाले अब धमाधम निर्माण कार्य सुरु हुन्छ ।
हाल मरिम्ला–तिन्जे—धो हुँदै सिसौलसम्मको ४० किमि सडकमा भने भेरी करिडोरले ट्¥याक खोलिसकेको छ । यता मुगुलाई चीनसँग जोड्ने गमगढी–नाक्चेनाग्ला सडकमा पनि बजेट विनियोजन भएको छैन् । यस वर्ष नाग्मा–गमगढी सडकको स्तरोन्नतिका लागि ४ करोड छुट्याइए पनि नाग्चेनाग्लातर्फ नयाँ ट्¥याक खोल्न बजेट नआएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले बताए ।
इन्जिनियर चौधरीका अनुसार ८० करोड रुपैयाँ लागत अनुमान गरिएको सडकमा अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको छ । कर्णालीको मुगुबाट चीन जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक हो । गमगढीबाट ६८ किमि दूरीको यो सडकमा अहिलेसम्म १६ किमि (मुगमकार्मारोङ गाउँपालिकाको छाइलसम्म) मात्र ट्¥याक खोलिएको छ ।
२०६२ फागुनदेखि सडक निर्माण सुरु गरिएको थियो । मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले सन् १९१५ देखि सीमा मुगुगाउँका आदिवासी जनजाति र तिब्बतीबीच व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा उक्त व्यावसायिक सम्बन्ध वैध बन्न नसकेको जनाए ।
सडक सुविधा नहुँदा मुगमकार्मारोङको किम्री, कार्ती, ताखा, खारी, मुगु, डोल्फु, चितै, रिउस र पुवागाउँका स्थानीय मोटर चढ्न पनि कम्तीमा दुई दिन पैदल हिँड्नुपर्ने किम्रीका धनारगोल्बु लामाले बताए । उनका अनुसार सडक नहुँदा गाउँको आलु, स्याउ, उवालगायत कृषि उत्पादन खेर जाने गरेको छ ।