‘अबको २५ वर्षभित्र नेपालले विकास निर्माणका काम सक्नै पर्ने बाध्यता’

सुर्खेत । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी मधुसुदन बुर्लाकोटीले नेपालको जनसंख्याको बनोट हेर्दा अबको २५ वर्षभित्र विकास निर्माणका कार्य सम्पन्न गरिसक्नु पर्ने बाध्यता तथ्याङ्कले देखाएको बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको प्रमुख आर्थिक सूचकहरुको प्रयोग विधि सम्बन्धी कर्णाली प्रदेश स्तरीय तालिमको उद्घाटन गर्दै बुर्लाकोटीले अहिलेदेखि नै उत्पादनशील जनशक्तिको विकाससँगै भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिन नसके २५ वर्ष पछि हालको जनसंख्या बढौलीमा प्रवेश गर्दा ऋणात्मक प्रतिफल दिने तथ्याङ्कले देखाएको जनाएका हुन् । उनले विकासका लागि चाहिने उत्पादनशील जनशक्ति निर्माणका लागि तीनै तहका सरकारले तीव्रता दिन आवश्यक रहेको औल्याए ।

तथ्याङ्कले मुलुकको वर्तमान अवस्थासँगै भविष्यमा कुन बाटो जाने भन्ने दिशा निर्देश गरेको बताउँदै उनले तथ्याङ्कको विश्लेषण, सूचकहरुको प्रयोग सही ढंगले गर्न सुझाव दिए । उनका अनुसार तथ्याङ्कको प्रयोग कम हुँदा देशको योजना, नीति निर्माणमा समेत प्रतिकुल प्रभाव पर्ने गरेको छ । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक पदमराज पाण्डेले तथ्याङ्क नीति तथा योजना निर्माणको आधार भएकाले शुद्ध, सामयिकसँगै व्याख्या र विश्लेषण पनि सहि हुनु पर्नेमा जोड दिए ।

उनले तथ्याङ्कहरुको विश्लेषणबाट तथ्याङ्कीय सूचकहरु निर्माण हुने हुँदा आर्थिक तथा सामाजिक विकासको नीति एवं योजनाको आधार भएको उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका अर्का निर्देशक ऋषिराम सिग्देलले तथ्याङ्कको परिभाषादेखि यसको सङ्कलन, प्रशोधन, व्याख्या र विश्लेषणका विधिलगायतका बारेमा जानकारी दिए ।

सरकारले बनाएका नीति योजनाहरुलाई विश्वासिलो, भरपर्दो बनाउन तथ्यहरुबाट पुष्टी गर्नु पर्ने हुँदा आर्थिक तथा सामाजिक सूचकहरु र त्यसको प्रयोग विधि महत्वपूर्ण रहेको उनको भनाइ थियो । तीन दिनसम्म चल्ने प्रदेश स्तरीय तालिममा तथ्याङ्क समन्वय कार्यालय सुर्खेतका प्रमुख विनोद आचार्यले आम नागरिकलाई सुसूचित गर्ने कार्यमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका हुने हुँदा सरकारका नीति तथा योजनाहरुको बारेमा सत्य तथ्य जानकारी दिन पत्रकारहरुसँग आग्रह गरे ।

उनले तथ्याङ्क, त्यसबाट निर्मित आर्थिक तथा सामाजिक सूचकहरु र त्यसको प्रयोग विधिका बारेमा पत्रकारहरुलाई दिने जानकारी उपयोगी हुने विश्वास व्यक्त गरे । तालिममा कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयका तथ्याङ्कसँग सम्बन्धित कर्मचारीसँगै आर्थिक पत्रकारहरुको सहभागिता रहेको छ ।

Translate »