खेलकुदले देशलाई चिनाई रहेको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् ।
आज पूर्वी सुर्खेतको सिम्तामा आयोजित १६ औं सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोतसाधनबीच खेलाडीहरुले आफ्नो मेहनतले देशलाई नै बिश्वसामु चिनाएको उल्लेख गर्दै स्वस्थ र समुन्नत नागरिक बनाउन खेलकुद आवश्यक रहेको बताएका हुन् ।

बिद्यालयमा रहेका हरेक विद्यार्थीलाई खेलकुदका माध्यमबाट असल नागरिक बनाउन सकिने हुँदा खेलकुदको महत्त्वलाई सबैले बुझ्न आवश्यक रहेको उनले औल्याए । खेलसँगै अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुको सहभागिता रहेको थियोे । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियोे । सिम्ता गाउँपालिकामा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका नौ वटै पालिकाका खेलाडीले भाग लिएका छन् ।