जुम्लामा २० करोड लगानीमा ५ वटा पक्की पुल निर्माण हुँदै

जुम्ला । जुम्लाका दुर्गम बस्तीमा यातायातको पहुँच विस्तारका लागि पूर्वाधार विकास कार्यालय जुम्लाले पक्की पुल निर्माणमा जोड दिएको छ ।

स्थानीय तह सञ्चालनपछि गाउँ गाउँमा सडक पुगे पनि पुल नहुँदा प्रयोग विहीन बनेका सडकमा गाडी गुडाउन र नागरिकको दैनिकीलाई सहज बनाउन कार्यालयले पुल निर्माणमा जोड दिएको हो ।

जिल्लाका विभिन्न ठाउँमा निर्माण हुने गरी तीन वटा पुलको ठेक्का खोलिएको छ । जसमा दुई वटा पक्की पुल निर्माण भइसकेका छन् । पूर्वाधार विकास कार्यालय जुम्लाको विवरणअनुसार कनकासुन्दरीलाई सदरमुकामसँग जोड्ने भैसेडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । गुठिचौरका ग्रामीण बस्ती जोड्ने पक्की पुल अन्तिम चरणमा पुगेको छ ।

साथै पातारासीको लुम, कनकासुन्दरीको न्याउरीघाट र हिमा गाउँपालिकाको मोफ्ला जोड्ने पुल निर्माणका लागि ठेक्का खोलिएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंहले बताए ।

उहाँका अनुसार नयाँ निर्माण हुने ३ वटा र निर्माण भइसकेका २ वटा पुल निर्माणका लागि झण्डै २० करोड ७ लाखभन्दा बढी बजेट खर्च हुने भएको छ । जसमा २०७९ असार २९ गते सम्झौता भई निर्माण सुरु भएको कनकासुन्दरीको भैँसेडी पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । उक्त पुल निर्माणका लागि ४ करोड ३२ लाख ६३ हजार रुपैयाँ खर्च भएको थियो । ३० मिटर लम्बाइको उक्त पुल निर्माणपछि कनकासुन्दरीबासीलाई आवतजावतमा सहज भएको छ । भने प्रसिद्ध कनकासुन्दरी मन्दिरको दर्शन गर्न आउनेलाई समेत सहज हुने भएको छ । पुल निर्माणपछि कनकासुन्दरी जुम्ला सदरमुकामसँग समेत जोडिएको छ ।

कनकासुन्दरी ४ का वडाध्यक्ष धनमानसिंहले भैसेडी पक्की पुल निर्माणपछि दुर्गम साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर, कोट लगायतका गाउँका नागरिकलाई सदरमुकाम आउन जान समेत सहज हुने बताए। उक्त पुल हुँदै बजार आउन निकै छोटो पर्ने भए पनि बीचको खण्डमा बजेट अभावले सडक निर्माण हुन सकेको छैन ।

त्यस्तै, जुम्ला र डोल्पा जोड्ने सडक खण्ड अन्तरर्गत गुठिचौरमा पनि पक्की पुल निर्माणको ९८ प्रतिशत काम सकिएको छ । ३ करोड ७६ लाख ३५ हजार लागतमा निर्माण भएको उक्त पुलले गुठिचौरका दुर्गम बस्तीलाई समेत यातायातमा जोड्न टेवा पुग्ने छ । कार्यालयका अनुसार २५ मिटरको सो पुल ९८ प्रतिशत काम सम्पन्न भइसकेकाले सुचारु गर्ने तयारी छ ।

जिल्लाका पातारासी, कनकासुन्दरी र हिमाका दुर्गम बस्तीमा सहज यातायात पहुँच विस्तार गर्ने उद्देश्यले नयाँ तीन वटा पुल निर्माणका लागि ठेक्का लगाइएको छ । जसमा हिमा गाउँपालिका वडा नंं ३ को मोफ्ला लगायतका दुर्गम गाउँलाई राजमार्गमा जोड्न ९० लाख लगानीमा मोटरेबल बेलिब्रिज बन्ने गरी ठेक्का आह्वान भइसकेको छ । कर्णाली प्रदेश सरकारले भर्खरै स्रोत सुनिश्चित गरेपछि उक्त पुल निर्माण प्रक्रिया अघि बढेको हो ।

यता कनकासुन्दरी गाउँपालिका वडा नं. १ को न्याउरी घाटमा २५ मिटर लामो पक्की पुल बन्ने छ । उक्त पुल निर्माणका लागि ५ करोड ४५ लाख बजेटको ठेक्का भई निर्माण कम्पनीसँग सम्झौता समेत भइसकेको छ । भने उता पातारासी गाउँपालिकाको लुममा पनि पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । पुलको काठेपूलबाट केही महिना अघि एक जना मोटरसाईलसहित खसेर मृत्यु भएको थियो । जग्गा विवाद टुङ्गिएपछि ४० मिटर लामो पक्की पुल निर्माण हुने भएको छ । लुममा पुल निर्माणका लागि ५ करोड ६४ लाखको टेण्डर आह्वान भएको छ ।

लुम र न्याउरीगाड पुल एउटै निर्माण कम्पनी (एमएस–एनएस–एमएनएस–एमसी) जेभीले जिम्मा पाएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकर प्रसाद सिंह जिल्लाका विभिन्न ठाउँमा नयाँ निर्माण हुने पुलको कामलाई अघि बढाउन ठेकेदारलाई ताकेता दिएको बताए ।

‘भैसेडी पुल सञ्चालनमा आइसकेको छ । गुठिचौर पुल सुचारु गर्ने तयारी छ ।’ उनले भने, ‘न्याउरीघाट र लुम पुलको काम ठेकेदारको कारण केही बिलम्ब भएपनि काम भइरहेको छ । भने उता हिमाको मोफ्ला पुलको भर्खर ठेक्का खोलेका छौ । सबै ठाउँमा निर्धारित समयमै संरचना बनाउने गरी हाम्रो प्रयास रहन्छ ।’ रेडियो नेपाल

Translate »