ठूलिभेरी नगरपालिकाद्वारा नगरबस सञ्चालन

डुनै । डोल्पाको ठूलिभेरी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ । आज त्रिपुरासुन्दरी मन्दिरमा नगरबस पूजाआजा गरेर नगरबस सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।

जिल्लाका ८ वटा स्थानीय तहमै पहिलोपटक ठूलिभेरी नगरपालिकाले नगरबस सञ्चालनमा ल्याएको हो । नगरपालिका भित्र धेरैजसो गाउँ बस्तीमा सडक पुगिसकेकाले नगरबासीलाई यातायातको सुविधा दिन नगरबस सञ्चालनमा ल्याइएको नगर प्रमुख सुवर्ण कुमार बुढाले बताए ।

‘नगरक्षेत्रका कुना कन्दरमा बस्ती छन्, नगरबासी जनताहरू कार्यालयको काममा सदरमुकाम दुनै पुग्न घन्टौं लाग्ने र निजी गाडी रिजर्भ गर्दा हजारौं तिर्नुपर्ने बाध्यता छ, उक्त समस्यालाई मध्येनजर राखि घर आँगनबाटै सशुल्क यातायातको सुविधा दिन नगरबस किनिएको हो,’ उनले भने ।

उनका अनुसार नगरबस सञ्चालनमा आएसँगै ताली, माझफाल, दुर्गाउ, जुफाल, मोतिपुर, डाँगीबाडा लगायतका बस्तीमा नगरबस पुगेर सेवा दिने छ।

Translate »