उद्योग निर्देशनालय सुर्खेतका निर्देशक लामिछानेको कपिलवस्तु सरुवा

सुर्खेत । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका निर्देशक पदमलाल लामिछानेको कपिलवस्तु सरुवा भएको छ ।
संघीय कर्मचारी निर्देशक लामिछानेको निर्देशनालयमा करिब साढे ६ महिनाको कार्यसम्पादन पश्चात जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सहायक प्रमुख जिल्ला अधिकारी पदमा सरुवा भएको हो ।
सुर्खेतबाट कपिलवस्तुमा उनको सरुवा भएपछि निर्देशनालयले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी विदाई तथा फेरी भेटौला कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा निर्देशक लामिछानेले छोटो अवधिको कार्यकाल भएपनि (टीमवर्क) को मेहनतका कारण निर्देशनालयको पूँजीगत खर्च सन्तोषजनक रहेको बताए ।

निर्देशनालयमा करिब साढे ६ महिनाको कार्यसम्पादन उत्साहजन रहेको बताउँदै उनले चालु आर्थिक वर्षको बाँकी समय समेत फलदायी परिणाम प्राप्त हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा निर्देशनालयका निमित्त निर्देशक माधवप्रसाद न्यौपानेले लामिछानेको आगामी यात्रा सफल र सु:खद रहोस् भनि शुभकामना दिए ।
विदाई तथा फेरी भेटौला कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा बयकले निर्देशक लामिछाने ईमानदार राष्ट्रसेवक मात्र नभई उपभोक्ता हक, हित र अधिकारको पक्षमा उल्लेखनीय कार्य गरेको जिकिर गरे ।
उनले कर्मचारी जीवनमा सरुवा, बढुवा र सेवा निवृत्त प्रक्रिया स्वाभाविक भएकाले जनुसुकै भूमिकालाई जिम्मेवारीपूर्वक निर्वाह गर्न सक्नु नै ईमानदार राष्ट्र सेवकको दायित्व भएको बताए ।
कार्यक्रममा निर्देशनालयका सूचना अधिकारी थिरबहादुर श्रेष्ठ, प्रशासकीय अधिकृतद्वय कृष्णबहादुर रोकाय, गोविन्दबहादुर थापा, ग्राम ईकाई सहायक टोपेन्द्र विसी, रामजंग शाह, कुलबहादुर नेपालीलगायतले निर्देशक लामिछानेका आगामी दिनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।