आगोमा परी ६५ वर्षीय वृद्धको मृत्यु

सल्यान । खरबारीमा लागेको आगो नियन्त्रणमा गर्नेमा क्रममा सल्यानमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका–३ तिमिले चौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

शुक्रबार दिउँसो करिब ३ बजेतिर श्रीमान् श्रीमती घाँस काटन गएको समयमा खर बारीमा अचानक आगलागी भएको थियो । आगो नियन्त्रण गर्ने क्रममा बस्नेत आगोको लपेटामा परेका थिए । आगलागीबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
वडाध्यक्ष कर्ण देव डाँगीका अनुसार श्रीमान् श्रीमतीसँगै घाँस काटन गएको र भिरालो खरबारीमा श्रीमान् घाँस काटेर ओर्लन नसकेपछि श्रीमती गाउँलेलाई बोलाउन गएकी थिईन् । गाउँलेसहित श्रीमती पुग्दा बस्नेतको मृत्यु भएको अवस्थामा भेटिएका थिए ।