आज विश्व उपभोक्ता अधिकार दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै

सुर्खेत । आज विश्व उपभोक्ता अधिकार दिवस सुर्खेतसहित देशभर उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने मूल नारा का साथ उपभोक्ता अधिकार दिवस आज विहान साढे ७ बजे सुर्खेतको मंगलगढी चोकदेखि शुरु भएको प्रभातफेरी पिपलचौतारामा पुगेर कोणसभामा परिणत हुने उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतले जनाएको छ ।

आज खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् । विश्व उपभोक्ता अधिकार दिवस वर्सेनि मार्च १५ तारिखका दिन मनाउने गरिन्छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रुपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।

चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो । सोही आधारमा प्रत्यक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् ।

संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।

उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।

Translate »