कर्णालीमा जनशक्ति अभावले अन्धोपना निवारणमा चुनौती कायमै

वार्षिक ९ हजार जनाको मोतियाविन्दु शल्यक्रिया गर्नुपर्नेमा ६ हजारको मात्रै

सुर्खेत । कर्णालीमा आँखा उपचारका क्षेत्रमा दक्ष जनशक्ति अभावले अन्धोपना निवारणमा चुनौती कायमै रहेको पाईएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगर शुरु भएको नेपाल नेत्र सहायक परिवारको प्रथम कर्णाली प्रदेश सम्मेलन तथा अधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै सुर्खेत आँखा अस्पतालका प्रबन्धक घनबहादुर थापाले कर्णाली प्रदेशका दशै जिल्लामा वार्षिक ९ हजार नागरिकको मोतियाविन्दु शल्यक्रिया गर्नुपर्ने लक्ष्य रहेपनि दक्ष जनशक्ति अभावले ६ हजार नागरिकको मात्र शल्यक्रिया हुने गरेको जानकारी दिएका हुन् ।

उनले सुर्खेत आँखा अस्पतालले हाल प्रदेशका १० जिल्लाका दुई लाख नागरिकलाई वार्षिक वहिरंग सेवा पु¥याई रहेको समेत बताए । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सुर्खेत आँखा अस्पतालको समन्वयमा प्रदेश स्तरीय आँखा स्वास्थ्य रणनीति २०८०÷०८१ बनेपनि पर्याप्त बजेट अभावले सोचेजस्तो प्रगति हुने नसकेको उनको भनाइ थियो ।

यता सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले कर्णालीको अन्धोपना निवारणमा प्रदेश सरकारले महत्वपूर्ण नीतिगत कार्यहरु गरेपनि पालिकास्तरसम्म पुग्न स्थानीय सरकारहरुले आफ्नै स्रोतसाधनले जनशक्ति व्यवस्थापनमा जुट्न आवश्यक रहेको औल्याए । उनले प्रदेशका ७९ वटा स्थानीय पालिका मध्य ३३ वटा स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र स्थापना गर्न सफल भएपनि अझै ४६ वटा स्थानमा पुग्न नसकिएको जानकारी दिए ।

उनका अनुसार प्रदेशका सबै पालिका स्तरमा आँखा उपचारलाई आधारभूत स्वास्थ्य सेवाका रुपमा स्थापित गरेर नेत्र सहायकको दरबन्दी कायम गर्न आवश्यक देखिन्छ । उनले आँखा उपचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन बजारमा क्षेत्रमा आफुखुशी खुलेका आँखा उपचार केन्द्रहरुको अनुगमन तथा नियमन गर्न प्रदेश सरकारले कार्यविधि समेत तयार गरेको जानकारी दिए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक तथा नेत्र विशेषज्ञ डा.शक्तिप्रसाद सुवेदीले आँखा उपचार सेवालाई आधारभूत सेवाका रुपमा जनस्तरसम्म पु¥याउन स्थानीय स्तरका प्रत्यक अस्पतालमा एक जना नेत्र सहायकको दरबन्दी अनिवार्य गर्नुपर्ने औल्याए । उनले समयको माग अनुसार (फिडर) को पाठ्यक्रममै सुधार गरी नेत्र सहायकको पढाईको गुणस्तरीय बनाउने तर्फ समेत ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाल नेत्र सहायक परिवारका केन्द्रीय अध्यक्ष रमेश घिमिरे र महासचिव रमेश प्रधानले नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा हालसम्म २ हजार ४ सयको संख्यामा दर्ता भएपनि देशैभर ३ हजार बढी नेत्र सहायक जनशक्ति रहेको बताए ।

उनले वर्षेनी नेत्र सहायक जनशक्ति उत्पादन अनुपातमा सरकारी दरबन्दी स्थापना नहुँदा आवश्यक क्षेत्रमा जनशक्ति अभाव हुनुपर्ने र अर्कोतर्फ शैक्षिक बेरोजगारी बढ्दै गईरहेको जनाए । उनका अनुसार हाल देशैभर वार्षिक ३ सय नेत्र सहायक जनशक्ति उत्पादन भईरहेको छ ।

प्रदेश सम्मेलन तथा अधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदी, सुर्खेत जिल्ला अध्यक्ष रामलाल आचार्य, सुर्खेत आँखा अस्पतालका निर्देशक डाक्टर मञ्जु पन्त र नेत्र ज्योति संघ कर्णाली प्रदेश संयोजक देवप्रसाद गौतमले कर्णालीको अन्धोपना निर्वारणमा नेत्र सहायकको भूमिका महत्वपूर्ण रहेको बताउँदै सरकार तथा गैरसरकारी सबै स्वास्थ्य संस्थामा अनिवार्य एक जना नेत्र सहायकको दरबन्दी स्थापना गर्न आवश्यक रहेको औल्याए ।

अधिवेशनमा लामो समयदेखि कर्णाली जस्ता दुर्गम क्षेत्रमा रहेर आँखा उपचारमा महत्वपूर्ण योगदान गर्ने ७ जना नेत्र सहायकलाई समेत सम्मान गरिएको थियो ।

Translate »