प्रहरी महानिरीक्षकमा दिपक थापा नियुक्त

काठमाडौं । मन्त्रिपरिषदको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक पदमा दिपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई नियुक्त गरेको हो ।

बैठकपछि प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिए ।

आजबाट ३० वर्षे सेवा अवधिका कारण आईजीपी वसन्त कुँवर अवकाश भएपछि सरकारले थापालाई नयाँ आईजीपीमा नियुक्त गरेको हो । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए ।

थापा नेपाल प्रहरीका ३१औं प्रहरी प्रमुख बनेका छन् । नयाँ आईजीपीका लागि ३ जना एआईजी प्रतिस्पर्धामा थिए ।

Translate »