सुर्खेतमा आप्रवासी स्रोत केन्द्रको उद्घाटन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका (वीनपा) ले जिल्ला प्रशासन कार्यालय परिसर भित्र आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) सञ्चालनमा ल्याएको छ ।

वैदेशिक रोजगारी सम्बन्धि सही सूचना प्रदान गर्ने उद्देश्यले आज वीरेन्द्रनगरका उप–प्रमुख नीलकण्ठ खनालले विधिवत रुपमा सहायता कक्षको उद्घाटन गरेका छन् । उनले वीनपाको आगामी बजेट निर्माण ताका टोल विकास तहसम्मै पुग्नेगरी सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धित कार्यक्रमहरु निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले विदेश जाने लहरलाई रोक्न र रिटर्नीहरुका लागि समेत सरकारले विशेष प्याकेजमै कार्यक्रम ल्याउनुपर्ने देखिएको बताए ।

यस्तै सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विदेशमा रगत पसिना बगाएर पठाएको रकम घरपरिवारले के, कसरी खर्च गरिरहेका छन् भन्ने बारेमा वित्तिय साक्षरताका कक्षाहरु सञ्चालन गर्न आवश्यक रहेको औल्याए ।

त्यस्तै (हेड अफ को–अपरेसन) स्विस राजदुतावासका मिस्टर म्याथिउले आप्रवासी केन्द्रबाट दिइने परामर्शले वैदेशिक रोजगारीमा जाने नागरिकका लागि धेरै नै प्रभावकारी रहेको पाईएको जनाए । उनले (सामी) कार्यक्रममा स्विस सरकारको तीस प्रतिशत र बाँकी ७० प्रतिशत रकम नेपाल सरकारको रहेको बताए ।

कार्यक्रममा आप्रवासी परामर्शकर्ता सीताकुमारी वलीले एक महिने प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म जम्मा ५ सय ५१ जनालाई आँफुहरुले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श दिएको बताईन् ।

उनले कर्णाली उत्सवमा वैदेशिक रोजगार बोर्ड सचिवालयमार्फत स्टलबाट १ सय ९२ जना र जिल्ला प्रशासन कार्यालय सुर्खेतको हाताभित्र सञ्चालनमा रहेको आप्रवासी परामर्श केन्द्रबाट ३ सय ५९ जनाले सेवा लिएको जानकारी दिईन् ।

Translate »