सल्यानमा एक सय ६७ क्षयरोगका बिरामी भेटिए

सल्यान । सल्यानमा चालु आर्थिक वर्षमा १६७ क्षयरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म १६८ नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार सबैभन्दा धेरै छत्रेश्वरी गाउँपालिकामा ३९ जना क्षयरोगी फेला परेका छन् । कपुरकोट गाउँपालिकामा २८ त्रिवेणी गाउँपालिकामा १८, कालीमाटी गाउँपालिका र शारदा नगरपालिकामा समान १७र१७, बागचौर नगरपालिकामा १४ जना क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए । यस्तै सिद्ध कुमाख गाउँपालिकामा १०, बनगाड कुपिण्डे नगरपालिकामा १६, कुमाख गाउँपालिकामा ३ र दार्मा गाउँपालिकामा ५ गरी १६७ जना बिरामी पहिचान भएको उनको भनाई छ ।

गत आर्थिक वर्ष २०८०र०८१ मा २६३ जना बिरामी फेला परेका थिए । कार्यालयका अनुसार क्षयरोगका कारण चालु आर्थिक वर्षमा ३ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा १३ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्ष सकिन अझै ४ महिना महिना बाँकी रहेकाले क्षयरोगका बिरामीको सङ्ख्या बढ्न सक्ने सूचना अधिकारी डिसीले बताए ।
ग्रामीण बस्तीसम्म खकारको सहज चेकजाँच नहुने ,समयमा उपचार नगराउने, खानपानमा ध्यान नदिने, समाजबाट बहिस्कृत हुने डरले रोग लुकाउने, चेतनाको कमी पुरा समय औषधी सेवन नगर्नु जस्ता कारण क्षयरोग नियन्त्रणमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए । पालिका पालिकामा नै क्षयरोग परीक्षणका लागि ल्याव सेवा भए चेकजाँच गर्न नागरिकलाई सहज हुने उनको भनाई छ । उनले भने जिल्लाको हकमा सल्यान जिल्ला अस्पतालमा मात्र क्षयरोगका परीक्षण हुन्छ । गाउँबाट कस्तो भाँडोमा खकार ल्यायो, तापक्रम के कस्तो छरु त्यसले पनि प्रभाव पार्छ । त्यसकारण पालिकाहरूमा नै ल्याव सेवा भइदिए सहज हुन्छ ।
नियमित रुपमा बिरामीले उपचार र औषधी सेवन गरेमा यो रोग निको हुने डा. बुढाको भनाई छ । क्षयरोग आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुबाट हुने एक प्रकारको सरुवा रोग हो । दुई हप्ता वा बढी समयसम्म लगातार खोकी लागि रहनु क्षयरोगको मुख्य लक्षण रहेको उनले बताए । ज्वरो आउनु, खाना नरुच्नु, छाती दुख्नु, खकारमा रगत देखा पर्नु क्षयरोगका लक्षण भएकाले यदि कसैमा यस्ता लक्षण देखा परे स्वास्थ्य संस्थामा गएर सम्पर्क गर्न आग्रह गरे ।