बजेटले सुर्खेतबासी उत्साहित, कार्यान्वयनमा जोड

सुर्खेत । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको महत्त्वाकाङ्क्षी योजनालाई सम्बोधन गर्न खोजेको भन्दै स्थानीय उत्साहित भएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आव २०८२/८३ का लागि कूल रु १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट सार्वजनिक गरे । बजेटमा वीरेन्द्रनगरको भेरी पम्पिङ खानेपानी आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न ५४ करोड बजेट । बजेट मार्फत सरकारले सुर्खेतमा चिकित्सा शिक्षा योजना अघि बढाएको छ । लामो समयदेखि अलपत्र परेको वीरेन्द्रनगरमा निर्मार्णाधिन सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माणका लागि १४ करोड बजेट सुनिश्चित गरिएको छ ।

सरकारले अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान, उपचार तथा पुनर्स्थापना सेवा प्रारम्भ गर्न बजेट विनियोजना गरेको छ । यस्तै सुर्खेत प्रादेशिक विमानस्थलको पूर्व तयारी सम्पन्न गरी निर्माण थालनी योजना अघि बढाएको छ ।

सरकारले बजेटमार्फत सुर्खेतका यी योजनालाई प्राथमिकता दिनु सकारात्मक भएकाले त्यसको कार्यान्वयन गर्न स्थानीयले सरकारसँग आग्रह गरेका छन् ।

‘समग्रमा सरकारले सार्वजनिक गरेको बजेट सुर्खेतबासीको दृष्टिकोणले स्वागतयोग्य छ,’ नेकपा एमाले सुर्खेतका अध्यक्षच कुलमणि देवकोटाले भने,  ‘सुर्खेत मेडिकल कलेज मार्फत चिकित्सा शिक्षा सञ्चालन गर्ने योजनालाई अघि बढाएको छ, यो अत्यन्तै सकारात्मक कुरा हो ।’ यसले यहाँ थप रोजगारीको वातावरण सिर्जना हुने उनको विश्वास छ ।

सुर्खेत शैक्षिक क्षेत्रको हब भएपनि पछिल्लो समय शैक्षिक गुणस्तर खस्किँदा चिकित्सा शिक्षालाई अघि बढाउने सरकारको योजना स्वागतयोग्य कदम भएको उनको भनाइ छ । उनले सुर्खेतमा औद्योगिक क्षेत्रको अवस्था दयनिय मात्र होइन, भएका केही थोरै उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगिरहेका बेला उद्योगलाई कर छुट दिने घोषणाले उद्योग सञ्चालन गर्न सहज हुने समेत बताए ।

सरकारले ल्याएको बजेट समग्रमा राम्रो रहेकाले प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने व्यवसायी राजु केसीले बताए । ‘हामीले वर्षौंदेखि उठाउँदै आएका कर छुटलगायतका विषयलाई बजेटले सम्बोधन गरेको छ,’ उनले भने, ‘निजी स्रोतलाई उत्साहित बनाउने बजेट सरकारले ल्याएको छ, अब यसको कार्यान्वयन आवश्यक छ ।’ आर्थिक सङ्कटसँग जुध्दै आएको र जीर्ण अवस्थामा रहेका उद्योग र उद्यमीमा केही आशा जगाएको छ ।’

बजेटमा कर्णाली प्रदेशका योजना

सरकारले आगामी आव २०८२/८३ को बजेटमार्फत कर्णाली प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसबाट सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले बजेटमार्फत कर्णालीमा रहेका सम्भाव्यता अध्ययन, सुरुङमार्ग निर्माण औद्योगिक क्षेत्र सञ्चालनलगायतका योजना अघि सारेको छ । कर्णाली कोरिडोर, भेरी कोरिडोर, ताल्चा–रारा सड्क र रत्न राजमार्गलाई स्तरोन्नति गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माणका लागि १४ करोड बजेट सुनिश्चित भएको छ । कर्णाली कोरिडोरका लागि १ अर्ब २७ करोड विनियोजन भएको छ । छिन्चु बसपार्क, रानीघाट–भुरीगाउँ सुरुङमार्गको सम्भाव्यता अध्ययन लगायतका योजनाहरु बजेटमा समेटिएका छन् । दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरेर प्राप्त नमुना परीक्षण प्रतिवेदनका आधारमा व्यावसायिक उत्पादन सुरु गर्ने बताइएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ५४ करोड विनियोजन भएको छ । कूल ६ अर्ब लागत रहेको सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजनाका लागि यो वर्ष १ अर्ब ३२ करोड बजेट छुट्याइएको छ । कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइन दुई वर्षभित्र सम्पन्न गर्ने घोषण गरेको छ ।

जाजरकोटको नलगाड, मुगु कर्णाली र सुर्खेतको उत्तरगंगा जलविद्युत आयोजनालाई बजेटमा सम्बोधन भएको छ । डोल्पामा बन्न लागेको अर्धजलाशययुक्त १०६ मेगावाटको जगदुल्ला हाइड्रोपावर निर्माण आगामी वर्षमा थाल्नेदेखि कर्णाली–चिसापानी बहुद्देश्यीय आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन पूरा गरी लगानीको ढाँचा तयार गरिने बताईएको छ ।

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स र पावर हाउस दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै कर्णाली र भेरीमा ¥याप्टिङ लगायतका गतिविधि गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने, राराको पूर्वाधार तथा पदयात्रा, जुम्लामा हाइअल्टिच्युट तालिम सेन्टर निर्माण, सुर्खेत विमानस्थल विस्तारको काम बजेटमा समेटिएको छ ।

 

Translate »