ज्येष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशतसम्म छुट दिइने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले ज्येष्ठ नागरिकलाई ८० प्रतिशतसम्म छुट दिने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकलाई हवाई टिकटमा छुट दिने निर्णय गरेको छ । आइतबार प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरुबीच भाडा छुटको सहमति भएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा संघका अध्यक्ष मनोज कार्की र सदस्य वायुसेवाका प्रतिनधिबीच भएको बैठकले यस्तो सहमति बनेको हो । प्राधिकरणका अनुसार भाडा दरमा छुट सबै सेक्टरका लागि उपलब्ध हुनेछ ।

७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिकालाई ८० प्रतिशत छुट दिइने छ । जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुलाई न्यूनतम ५० प्रतिशत छुट दिइने प्राधिकरणको भनाइ छ ।

छुट सहमति आइतबारदेखि नै कायान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Translate »