प्यान कार्ड र करसम्बन्धी सेवा पालिकाबाटै

काठमाडौं । स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) अब स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।

आन्तरिक राजस्व विभागले एक विज्ञप्ति जारी गर्दै प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाइएको जानकारी दिएको हो । यसअघि करदाता सेवा कार्यालयहरुबाट मात्रै प्यान कार्ड प्रदान गरिँदै आएको थियो ।

आन्तरिक राजस्व विभाग अन्तर्गतका करदाता सेवा कार्यालयहहरु खारेज भएका छन् । सेवा प्रवाहलाई करदातासम्म नजिक पु¥याउन र प्रविधिमैत्री बनाउने उद्देश्यले सेवालाई विकेन्द्रीकरण गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार, स्थानीय तहबाट सेवा शुरु हुन समय लाग्ने अवस्था देखिएमा ती सेवाहरु जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत उपलब्ध गराइने व्यवस्था गरिएको छ । कर भुक्तानी, करचुक्ता प्रमाणपत्र लगायतका सेवा भने अनलाइन प्रणालीमार्फत उपलब्ध हुने विभागले स्पष्ट पारेको छ ।

वैकल्पिक व्यवस्था नभएसम्म भने सम्बन्धित करदाता सेवा कार्यालयहरुबाट सेवा सञ्चालन हुने विभागको भनाइ छ ।

Translate »