नेपालमा १०० भारुभन्दा माथिका नोट प्रयोगमा लगाईएको प्रतिबन्ध हट्यो

 

काठमाडौं । भारतले नेपालमा १०० भारुभन्दा माथिका नोटमा लगाएको प्रतिबन्ध हटाएको छ ।

भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । हाल नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । रिजर्भ बैंक अफ इन्डियाले राजपत्रमा सूचना प्रकाशित गरी उक्त प्रतिबन्ध हटाएको हो ।

भारतले अनुमति दिएसँगै सयसँगै ठूला दरका भारु चलाउन पाइने भएको छ । अब आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो । तर भारतबाट ल्याउनरलैजान पाउने ठूला दरका नोटको सीमा तोकिएको छ ।

राजपत्रमा प्रकाशित सूचनामा भएको व्यवस्था अनुसार अब नेपालमा ल्याउन/लैजान सकिने ठूला दरका नोटको अधिकतम सीमा २५ हजार भारु तोकिएको छ । यद्यपि ! यो व्यवस्था कार्यान्वयनका लागि भने नेपाल राष्ट्र बैंकले पनि आवश्यक काम गर्नुपर्ने जानकार बताउँछन् ।

राष्ट्र बैंकले परिपत्र जारी गरेपछि मात्र नागरिकले ठूला दरका भारु चलनचल्तीमा ल्याउन पाउनेछन् । हाल भारतमा १०० भारुभन्दा माथिका नोटमध्ये २००, ५०० र २००० भारुका नोट चलनमा रहेका छन् ।

नेपालमा सन् २०१६ अघिसम्म ठूला दरका भारु नोट चलनचल्तीमा थिए । तर, भारतले सन् २०१६ मा ५०० र १,००० भारुका नोटहरू अमौद्रिकीकरण (डिमोनिटाइजेसन) गरेपछि नेपालमा ठूला दरका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको थियो ।

त्यसपछि नेपालमा १०० भारु दरका मात्रै नोट ल्याउन र लैजान सकिन्थ्यो । नयाँ व्यवस्था कार्यान्वयन भएपछि भारतबाट नेपाल आउने पर्यटकका लागि सहज हुने बताइएको छ । भारतले भुटानलाई पनि यी सुविधा दिएको छ ।

Translate »