सुर्खेतमा विद्युतीय सुरक्षा दिवस मनाईयो

सुर्खेत । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस २०८२ मनाएको छ ।  केन्द्रले आज सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा ‘विद्युतीय खतराबाट बचौं र बचाऔं’ भन्ने मूल नाराका साथ विद्युतीय सुरक्षा दिवस मनाएको हो ।

‘विद्युत दुर्घटनाबाट बचौ र बचाउ’, ‘प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौं’, ‘सुरक्षाप्रतिको चासो, दुर्घटनाबाट बच्ने साँचो’, ‘सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा’ र ‘विद्युत दुर्घटना संयोग होइन, सुरक्षाप्रतिको वेवास्ता हो’ जस्ता चेतनामूलक प्लेकार्डसहित शाखा कार्यालयबाट सुरु भएको प्रभातफेरि घण्टाघर, एमाले चोक, मंगलगढीचोक, वीरेन्द्रचोक, पिपलचौतारा, जिल्ला प्रशासन कार्यालय हुँदै प्राधिकरणको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वितरण केन्द्र प्रमुख किरण खनालले ८१ हजार ७ सय ९४ ग्राहक रहेको सुर्खेत वितरण केन्द्रमा विद्युत चुहावट १७ दशमलव ८२ प्रतिशत रहेको जानकारी गराए । उनले पटक–पटक ताकेता गर्दापनि समयमै विद्युत महसुल नबुझाउने २ सय ७३ जना ग्राहकको लाईन काटिएको बताए । उनका अनुसार चालु आर्थिक वर्षको चैतसम्म ग्राहकको लाइन काटेर ७४ लाख ६४ हजार ७५९ रुपैयाँ असुल उपर गरिएको छ ।

लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको संख्या घट्दै गएको उनको भनाइ छ । विद्युत लाइन काटेको ६ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालो सुचीमा राखिने गरिएको उनले जनाए । वितरण केन्द्रले मिटर जडान, मिटर रिडिङ तथा महसुल सङ्कलन, विद्युत चोरी नियन्त्रण, वितरण लाइन विस्तार, वितरण लाइन सुधार, संरचना बनाउने मापदण्ड र लाइनको रुट परिवर्तन, विद्युतीय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाइएको खनालले जानकारी दिए ।

Translate »