अबैध नदीजन्य पदार्थ उत्खनन्मा संलग्न १७ सवारी साधन सुर्खेत प्रहरीको नियन्त्रणमा


सुर्खेत । सुर्खेतमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न १२ टिप्परसहित १७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज गोप्य सूचना पाएपछि उत्खनन स्थलमै पुगेर १२ टिप्पर, २ ट्याक्टर, २ जेसीभी र १ स्काभेटरलाई नियन्त्रणमा लिएको हो ।
मापदण्ड विपरीत नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उत्खनन तथा ओसारपसारमा संलग्न मालबाहक सवारी साधनलाई जिल्लाको भेरीगंगा नगरपालिका र लेकबेशी नगरपालिकाबाट नियन्त्रणमा लिएर आवश्यक कारवाही शुरु गरिएको सुर्खेतका प्रहरी प्रमुख सुधिरराज शाहीले जानकारी दिए ।

उनले भेरीगंगा नगरपालिका–१३, को सालटाकुरा र लेकवेशी नगरपालिका–७, को पटारे क्षेत्रमा भेरी नदीको बहाव नै प्रभावित हुने गरी अवैध उत्खनन तथा ओसारपसारमा संलग्न रहेको पाईएपछि नियन्त्रणमा लिइएको बताए । तोकिएको विधि, प्रक्रिया मिचेर ठेकेदार र व्यवसायीहरुले मेसिन प्रयोग गर्न नपाइने ठाउँमा समेत भारी उपकरण लगाएर नदीको स्वरुप बिगारिरहेको पाईएपछि ती सवारी साधनलाई नियन्त्रणमा लिनु परेको उनको भनाइ छ ।
उनले नियन्त्रणमा लिएका सवारी साधनलाई थप कारबाहीका लागि सम्बन्धित पालिकामा पठाईने बताए । अवैध उत्खननले खोलाको सतह गहिरिने, बाढीको जोखिम बढ्नुका साथै स्थानीय पूर्वाधारमा क्षति पुग्ने जोखिम बढेको थियो । यद्यपि ! प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्नलाई स्थानीय सरकारले कस्तो जरिवाना र कारबाही गर्छ भन्नेमा अहिले खुलाईएको छैन् ।
नेपालमा नदीजन्य पदार्थको उत्खनन, संकलन र व्यवस्थापन कार्यविधि, २०७७ अनुसार स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको पूर्ण पालना गर्नुपर्ने कानुनी व्यवस्था छ । नदीजन्य पदार्थ उत्खनन्, व्यवस्थापन एवं नियमन कार्यविधि– २०७७ (घ) सडक विभाग र सम्बन्धित निकायले तोकेको सडक सीमा र मापदण्ड भित्रको क्षेत्रमा नदीजन्य पदार्थ लगायत कुनै पनि सामग्री संकलन गर्न पाईदैन् ।

