लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सम्मानमा गौरव महिना समापन

सुर्खेत । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सम्मानमा गौरव महिना (प्राइड मन्थ) समापन गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रवार सरोकारवालाको सहभागितामा गौरव महिना समापन गरिएको हो । सेभ द चिल्डे«न, सीसीआर कर्णाली र कर्णाली इन्देणी आवाजको सहकार्यमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले विविधताको सम्मान र विभेद अन्त्यका लागि १० बुँदे साझा प्रतिबद्धतासमेत जनाएका छन् ।

कार्यक्रममा उत्कृष्ट उद्यमी सम्मानका साथै समावेशी समाज निर्माणका लागि सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले प्रतिबद्धता व्यक्त गरेका हुन् । गौरव महिना जुन महिना भरी मनाउने गरिन्छ । यसका अवसरमा विश्वभर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान, अधिकार र विविधताको उत्सव मनाउने गर्दछन् ।

गौरव महिना समापन कार्यक्रमकका प्रमुख अतिथि कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार र सम्मानका लागि सबैको हातेमालो जरूरी रहेको बताए । उनले उक्त समुदायको सीप र क्षमतालाई आयआर्जनसँग जोड्नेगरी नीति तथा कार्यक्रमहरू ल्याउन आवश्यक रहेको औंल्याए ।

प्रदेश बाल अधिकार समितिका सदस्य डम्बरबहादुर रोकायले सबै समुदायको समान अधिकार र आत्मसम्मानका लागि पैरवी गर्नुपर्नेमा जोड दिए । त्यस्तै, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका कोषाध्यक्ष ईश्वरराज अधिकारीले सरकार र नागरिक समाजको साझा प्रयासबाट मात्र विविधताको सम्मान तथा सबै नागरिकको समान अधिकार सुनिश्चित हुने बताए ।

उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाललाई सञ्चार क्षेत्रले सधैं महत्वकासाथ उठाउँदै आएको जनाए । कर्णाली इन्देणी आवाजका अध्यक्ष अञ्जली विसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सीसीआर कर्णालीका कार्यकारी निर्देशक टेकराज आचार्यले गरेका थिए ।

Translate »